सुर्खेत । कर्णाली प्रदेश राजधानीमा रहेको वीरेन्द्रनगर नगरपालिकाले महिलाहरुलाई स्वरोजगारमा जोड्न लेखापढीमा प्रशिक्षित गराउन थालेको छ । नगरपालिकाले लेखापढीमा महिलाहरुलाई प्रशिक्षित गराएर स्वरोजगारमा जोड्ने उदेश्यसहित कार्यक्रम शुरू गरेको हो ।
नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले हेर्दै आएको न्यायिक समितिमा मुद्दा लिएर आउने सेवाग्राहीहरुलाई लेखापढी गराइदिन पनि तालिमको आयोजना गरिएको छ । वीरेन्द्रनगर न्यायिक समिति, नेपाल कानुन समाज र द एसिया फाउन्डेसनको सहकार्यमा तीन दिने लेखापढि तालिम शुरु गरिएको उपप्रमुख ढकालले जानकारी दिइन् ।
उनकाअनुसार तालिममा ६० जना महिलाहरुको सहभागिता छ । तालिमपश्चात उनीहरुलाई सुर्खेत जिल्ला अदालतले लेखनदास परीक्षा सञ्चालन गर्ने ढकालको भनाई छ । ‘अदालतले नै परीक्षा लिनेछ र परीक्षामा उत्तिर्णलाई लेखनदास प्रमाणपत्र उपलव्ध गराइनेछ,’ ढकालले भनिन्, ‘नगरपालिकाले तालिम मात्रै प्रदान गर्ने नभई महिला स्वरोजगारसँग जोड्दैछौं ।’ महिलाहरु पनि लेखापढी व्यवसाय गर्न सक्षम छन भन्ने देखाउन तालिमको आयोजना गरिएको ढकालले बताइन् ।
ए.के. सञ्चार । २० भाद्र २०७८, आईतवार १२:५७