कांग्रेसले फेरि सार्‍यो महाधिवेशन, नयाँ मिति मंसिर २७-२९

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले महाधिवेशनको मिति फेरि पछि सारेको छ। परिवर्तित कार्यतालिकाअनुसार अब कांग्रेसले १४ औं महाधिवेशन आगामी मंसिर २७-२९ गतेसम्म गर्ने छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले महाधिवेशनको मिति सारेको हो। कांग्रेसले रसुवा, बारा र रौतहट जिल्लामा क्रियाशील सदस्यको सूचीसमेत जारी गर्न सकेको छैन।

सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा कांग्रेसले वडास्तरीय अधिवेशन गर्न सकेको छैन। निर्वाचन समितिका एक सदस्यका अनुसार वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते र कात्तिक ३० गते स्थानीय तहको अधिवेशन हुने छ।

बैठकले मंसिर ३ मा प्रदेशसभा क्षेत्रको अधिवेशन गर्ने कार्यतालिका तयार पारेको छ। यसैगरी, मंसिर ६ मा प्रतिनिधिसभा क्षेत्रको र मंसिर १० गते जिल्लाको र प्रदेशको अधिवेशन मंसिर १६-१७ गते सम्पन्न गर्ने कार्यतालिका समितिको आजको बैठकले बनाएको छ।

निर्वाचन समितिले कांग्रेसका शीर्ष नेतासँग यसबारे मंगलबार छलफल गरेको थियो। मंगलबारको छलफलपछि समितिले बुधबार नयाँ कार्यतालिका तयार पारेको हो।प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले  मंसिरभित्र महाधिवेशन सम्पन्न हुने गरी कार्यतालिका तयार पार्न निर्देशन दिएका थिए।

पहिले तय महाधिवेशन मिति

यसअघि काग्रेसले महाधिवेशनको मिति तीनपल्ट सारिसकेको छ। उसले पहिले ०७७ फागुन ७-१० काठमाडौंमा महाधिवेशन गर्ने मिति तोकेको थियो। कोरोनाको संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तरपार्टी समायोजनलाई कारण देखाउँदै कांग्रेसले ०७८ भदौ पहिलो साता गर्ने भन्दै महाधिवेशन पछि सारियो। तैपनि पार्टीभित्र क्रियाशील सदस्यता विवाद टुंगिएन। र, त्यही विवादका साथै कोरोनाको कारण देखाउँदै फेरि भदौ १६-१९ महाधिवेशन गर्ने भन्दै उसले मिति पछि सारेको थियो। तोकिएको समयमा क्रियाशील सदस्यता विवादको समस्या ज्युँका त्युँ रहेपछि कांग्रेसले ०७८ मंसिर ९-१३ मा महाधिवेशनको मिति तोकेको थियो।