भेरीमा बेपत्ता बालिकाको शव फेला

सल्यान : भेरी नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएकी बालिकाको शव ३ दिनपछि फेला परेको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-३ काराकी अन्दाजी १४ वर्षीया गीता विकको शव बनगाड कुपिण्डे नगरपालिका-११ सिस्नेपातलनजिकै शुक्रबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बेपत्ता भएको स्थानबाट झन्डै ६ किलोमिटर तल भेरी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए। बेपत्ता भएकी बालिकाको प्रहरी र स्थानीयले खोजी गर्दै आइरहेका थिए।

खोजी गर्ने क्रममा गीताको बाजे नाता पर्नेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मंगलबार दिउँसो धान कुट्न कारागाउँ जिउलास्थित मिलमा गएको समयमा भेरीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएकी थिइन्।