शिक्षासम्बन्धी कानुन निर्माण गर्न जोड

सुर्खेत । प्रदेश संरचना बनेको ३ वर्षसम्म पनि शिक्षा नीति नबनेकोमा सरोकारवालाले आश्चर्य व्यक्त गरेका छन् । उनीहरुले कर्णालीमैत्री शिक्षा नीति तर्जुमा गरी आवश्यक शिक्षासम्बन्धी कानुन निर्माण गर्न जोड दिएका छन् ।

शुक्रबार सेभ द चिल्ड्रेनको सहकार्यमा शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘कर्णालीमा शिक्षाका कुरा’ विषयक कार्यक्रममा उनीहरुले भनाइ थियो, ‘कर्णालीमा अन्यत्रको तुलनामा फरकखाले समस्या र चुनौती छन्, तिनलाई समाधान गर्ने गरी नीति बनाइनुपर्छ ।’

प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीले संघीय सरकारले बेलैमा शिक्षासम्बन्धी कानुन निर्माण नगर्दा प्रदेशमा पनि त्यसको असर परेको बताए । उनले कर्णालीको शिक्षा नीति निर्माणको अन्तिम चरणमा रहेको जानकारी गराउँदै सरोकारवाला सबैसँग छलफल गरी त्यसलाई टुंगोमा पु¥याइने बताए ।

प्रदेशसभा सदस्य एवं सामाजिक विकास समितिकी अध्यक्ष देवी ओलीले कतिपय शिक्षासम्बन्धी विधेयक संसदमा गए पनि विभिन्न कारणले पास हुन नसकेका बताईन् ।
शिक्षाविद् विद्यानाथ कोइरालाले नेपालको शिक्षामा मातृभाषा भन्दा पनि दातृभाषाको प्रवद्र्धन गर्ने काम भएको टिप्पणी गरे । कर्णालीको शिक्षाका खास समस्या पहिचान गरी आवश्यक नीति, कार्यक्रम, योजना तय गर्न कोइरालाले सुझाव दिए ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका शिक्षाशास्त्र संकायका सहायक डीन विष्णुकुमार खड्काले ‘कर्णालीमैत्री शिक्षा नीति, कार्यक्रम र कार्यान्वयन ः अवसर, चुनौती र संभावना’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसक्रममा कर्णालीमा विद्यार्थीलाई विद्यालयमा ‘झिकाउने, टिकाउने, सिकाउने र बिकाउने’ खालको शिक्षा नीति बनाउनुपर्ने सुझाव उनले दिए । विद्यालय व्यवस्थापन समिति महासंघका कर्णाली प्रदेश अध्यक्ष गोविन्द कोइरालाले विद्यालय शिक्षाको गुणस्तर सुधार्नको लागि अभिभावक शिक्षाको पनि उत्तिकै आवश्यकता रहेको बताए ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका योजना तथा अनुगमन निर्देशक प्रा। डा। चन्द्रप्रसाद रिजाल, सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री, आठबीस नगरपालिकाकी उपप्रमुख दीपा बोहोरा, चन्द्रपुर मावि सुर्खेतकी प्रधानाध्यापक हरिमाया कोइराला, शिक्षक रत्ना बिक, दुधेशिल्ला मावि कालिकोटका प्रधानाध्यापक मानबहादुर रोकाया, पलाँता गाउँपालिकाका शिक्षा संयोजक रणप्रसाद भट्ट, शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष सुदर्शन सिग्देल लगायतले आफ्नो भनाई राखेका थिए ।