काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७८/७९ मा १३१ वटा भ्रष्टाचार सम्बन्धित मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ । दायर गरिएका मुद्दामध्ये सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसँग सम्बन्धित ३५ वटा, गैरकानुनी लाभ हानिसँग सम्बन्धित ३४ वटा, घुससँग सम्बन्धित ३२ वटा, गैरकानुनी सम्पत्ति आर्जनसँग सम्बन्धित ७ वटा, नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित ६ वटा, राजस्व चुहावट सम्बन्धित ५ वटा र विविध विषयसँग सम्बन्धित १२ वटा रहेका छन् ।
अख्तियारका अनुसार १३१ वटा भ्रष्टाचार मुद्दा दायर गर्दा ६३९ जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीसँग कुल २ अर्ब ७९ करोड २७ लाख ४८ हजार १०० रुपैयाँ बिगो दाबी गरिएको अख्तियारले हालै सार्वजनिक गरेको आफ्नो ३२औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा अख्तियारले ११३ वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो । ती मुद्दामा ४४३ जनालाई प्रतिबादी बनाइएको थियो । उनीहरुसँग १ अर्ब ८९ करोड ४७ लाख ३५ हजार ४३४ रुपैयाँ बिगो दाबी गरिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा आयोगले घुस सम्बन्धी ३२ वटा मुद्दा दायर गरेको छ जुन संख्या अघिल्लो आर्थिक वर्षकोभन्दा केही कम हो । आर्थिक वर्ष २०७७/७८ मा यो संख्या ७० रहेको थियो ।
ए.के. सञ्चार । ६ आश्विन २०७९, बिहीबार १२:०७