सुर्खेत । सुविधासम्पन्न सहरमा बसेर उच्च शिक्षा पढ्छु भनेर काठमाडौं जाने कर्णालीका विद्यार्थी पनि छन् । काठमाडौंमा व्यापार गर्छु र कमाउँछु भन्ने सपना बोकेर जानेहरु पनि कर्णालीका मानिस छन्। राजधानी घुमेर फर्किन्छु भनेर काठमाडौं जानेहरु पनि छन् र ‘कर्णालीमा बस्न उचित छैन, काठमाडौमैं बस्छु’ भनेर बसाई सर्नेहरु पनि कर्णालीका मानिस छन्।
यी त रहरसँग सहर पुग्ने कर्णालीका पात्रहरु हुन्। यहाँ बिमार निको भएन, काठमाडौं पुगेर निको भएर आउँछु, विदेशबाट बाकसमा फर्किएका आफन्तहरुलाई घरमा लिएर आउँछु, बारीको उब्जनीले पुगेन, काठमाडौंमा मजदुरी गरी कमाएर घरखर्च ल्याउँछु जस्ता विभिन्न बाध्यता बोकेर काठमाडौं पुग्नेहरु त कर्णालीका थुप्रै मानिस छन्।
रहर र बाध्यता बोकेर काठमाडौं जानेहरुका भिँडमा कर्णालीका नेताहरु पनि छन्। तर उनीहरुसँग यस्तो कुनै रहर र बाध्यता भने थिएन।
त्यसो भए कर्णालीको विकास गर्छु भनेर राजनीति गरेका नेताहरु काठमाडौंमा किन बस्नुप¥यो त? सुर्खेतमा ‘कर्णालीदेखि काठमाडौंसम्म’ सत्रमा गरिएको बहसमा ती काठमाडौं बस्ने केही नेताहरुको बयान सुनौं।
‘कर्णालीमा दुखका कथा मात्र लेखिँदैन, पीडाका गीत मात्र गाईदैनन्, कर्णालीका सपनाहरु फोक्सुण्डोमा डुबेका छैनन्, कर्णाली सम्भावनाको सगरमाथा हो,’ कर्णाली प्रदेशका पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता नरेश भण्डारी भन्छन्, ‘म भागेर काठमडौं गएको होईन, कर्णालीको विकासका लागि काठमाडौंमा कर्मथलो बनाएको राजनीतिकर्मी हो, म अन्तिम सास कर्णालीमै फेर्ने हो।’
पूर्वमन्त्री सत्य पहाडी आफूलाई कर्णालीको पहिचान बोकेर यहाँको सुन्दर सपना साकार पार्न काठमाडौं पुगेको म एक यात्रीका रुपमा चिनाउँछिन्। ‘मैंले काठमाडौं बस्दा पनि धेरैपटक डोल्पाको प्रतिनिधित्व गरेकी छु। विभेदको हुरी अन्त गर्न, समानताको सपना साकार पार्न काठमाडौं पुगेर सामन्ती शासनमाथि धावा बोलेको योद्धा हो,’ उनी भन्छिन्, ‘म निरन्तर कर्णालीको निम्ति बाँचेको छु, बाँचिरहनेछु।’
उनले कर्णालीको क्षमतामाथि नजरअन्दाज गर्नेमाथि काठमाडौंमा बसेर बज्र प्रहार गर्नेमध्येमा आफूलाई दाँजिन्। नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल आफूलाई राजनीतिले नै डो¥याएर काठमाडौं पु¥याएको बताउँछन्। भौतिक अवस्थितिले चेतनाको निर्माण गर्छ भन्ने आफ्नो दलको सिद्धान्त पछ्याउँदै कर्णालीदेखि काठमाडौंसम्मको यात्रा तय गरेको उनको भनाई छ।
अब कर्णालीको विकास कसरी गर्ने, कर्णालीमा सम्भावना के छन्, यसमा पनि उनीहरुले आफ्ना अवधारणा सुनाएका छन्। नरेश भण्डारी कर्णाली समृद्धिको सुत्रपात गर्ने प्रदेशको वर्गमा पर्ने बताउँछन्। ‘कर्णालीको साधनस्रोतको हकदार हामी हौं, हामीले नै उपयोग गर्नुपर्छ। नदीमा बगिरहेको डलरलाई कर्णालीका नागरिकको जीवन समृद्धिका लागि उपयोगी हुनेगरी लगाउनुपर्छ,’ उनले भने, ‘अहिले पनि कर्णालीमा केही नभएको होईन, कर्णाली हामीले सोचेजस्तो परिवर्तन नभएको मात्र हो।’
उनी अब काठमाडौंको विकासको मोडल फेल भईसकेको बताउँछन्। अब कर्णालीको मोडल अपनाएर देशको विकास गर्नुपर्ने सुझाव उनको छ। ‘अहिले पनि धादिङ र नुवाकोटमा डाक्टर बस्न मान्दैनन्, जुम्लामा १०० भन्दा धेरै डाक्टर छन्,’ भण्डारी भन्छन्, ‘कर्णालीले पहिले बिरामी पठाउँथ्यो, अहिले डाक्टर पठाउँछ, त्यसैले म भन्छु अब कर्णालीको मोडलबाट विकास गरौं।’
कर्णालीका विकासका थुप्रै सम्भावना भएकाले यसमा लगानी गर्दै कर्णालीका समस्या समाधान गर्न राजनीतिक सहमति जुटाउनुपर्ने बताउँछन्। सत्य पहाडी संघीयताको अभ्यास भईरहेकाले यसैमार्फत् कर्णालीका विकास गर्न सकिने बताउँछिन्। ‘एकात्मक राज्य प्रणालीबाट कर्णालीको विकास हुँदैन भनेर हामीले संघीयताको व्यवस्था गरेका हौं, अब कर्णालीमै सरकार छ, पक्कै विकास गर्छ।
उनले कर्णालीलाई भौगोलिक कठिनाईका रुपमा मात्र लिन नहुने र एउटा सम्पत्तिका रुपमा लिनुपर्ने सुझाव दिईन्। नेपाली काँग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले अब कर्णालीको परिचय बदल्नका लागि आफैंले काम गर्नुपर्नेमा जोड दिए। ‘हाम्रा नेताले, हाम्रो अगुवाले गरिदिन्छन् भनेर भर पर्नुहुँदैन,’ उनी भन्छन्, ‘कर्णालीलाई परिवर्तन गर्ने दायित्व कर्णालीकै मान्छेको मात्र पनि होईन, नेपालका प्रमुख राजनीतिक दल, जसले देशको नेतृत्व गरिरहेका छन्, उनीहरुले आफ्नो क्षेत्रका लागि मात्र चिन्ता गर्ने होईन। कर्णाली जस्ता पिछडिएका क्षेत्रलाई हेर्नुपर्छ।’ अहिले कर्णलीमा दुख र पीडाका कथाहरु मात्र छन् भन्ने भ्रम काठमाडौंलाई परेको बताए।
ए.के. सञ्चार । ७ फाल्गुन २०७९, आईतवार २१:२६