मजदुर अभावकाबिच भेरी–बबईको ४७ प्रतिशत काम सकियो

सुर्खेत । सुर्खेत स्थित राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणका लागि मजदुरको अभाव भएको छ । हालसम्म ४७ प्रतिशत निर्माण कार्यसम्पन्न भएको आयोनामा मजदुरको अभाव छ ।

आयोजना निर्देशक हरिनारायण यादवका अनुसार गत वर्षदेखि पटक पटकको निषेधाज्ञाले राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन निर्माण कार्यमा मजदुरको अभाव भएको छ । ‘आयोजना निर्माणमा २४ सय बढी मजदुर आवश्यक भएपनि हाल ६ सय जना मजदुर मात्रै उपलब्ध छन्’ उनले भने, ‘आयोजनामा ४९ जना कर्मचारी र ९ जना सिभिल इन्जिनियर हुनुपर्नेमा हाल ३ सिभिल इन्जिनियरसहित ३४ जना मात्रै कार्यरत छन् । तिब्र गतिमा निर्माण कार्य भइरहेपनि प्राविधिक र मजदुर समस्याले काममा केही ढिलाइ भएको छ ।’

आर्थिक वर्ष २०७९र८० सम्म निर्माण कार्य सम्पन्न गरी बाँके र बर्दियाको ५१ हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने र ६४.८ मेगावाट जलविद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । लुम्बिनी र कर्णाली प्रदेशको आर्थिक समृद्धिसँग जोडिएको आयोजना निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक सहयोग गर्ने कर्णाली सरकारले नीति लिएको कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठले बताए ।

‘यो आयोजना निर्माणपछि कर्णाली तथा लुम्बिनी प्रदेशवासीलाई फाइदा हुनेछ । कर्णालीवासीले विद्युत सेवा उपभोग गर्नेछन् । भने लुम्बिनी प्रदेशका बर्दिया, बाँके जिल्लाका स्थानीयले सिँचाई सेवा उपभोग गर्नेछन्’ उनले भने, ‘आयोजना निर्माणमा कर्णाली सरकारले पनि आवश्यक सहयोग गर्नेछ । यस्तो गौरवको आयोजना कर्णालीमा निर्माण हुनु भनेको कर्णालीवासीको आर्थिक स्तरपछि बृद्धि हुनु हो ।’

हाल आयोजना प्रभावित क्षेत्रका ९७ प्रतिशत परिवारले मुआब्जा समेत पाइसकेका छन् । १० अर्ब ५६ करोड लागतमा नेपालमा पहिलो पटक टीबीएम मेसिन प्रयोग गरी आयोजनाको १२।२० किलोमिटरको सुरुङ निर्माण सम्पन्न भएको छ । भने हाल बाँध तथा पावर हाउस निर्माणको काम जारी छ । पहिलो र दोस्रो चरण कामको प्रगति हेर्ने हो भने सम्झौता अवधिमै अबको २ वर्षभित्रै आयोजनाले कामसक्ने अनुमान छ ।

पछिल्लो तथ्यांक अनुसार आयोजनाले ४७ प्रतिशत भौतिक प्रगति हासिल गरेको हो भने वित्तीय प्रगति ३७।५७ प्रतिशत छ । चालु आर्थिक वर्षमा झन्डै ५० प्रतिशत काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको आयोजनाका निर्देशक हरिनारायण यादवले बताए । ‘यही रफ्तारमा काम गर्न पाए २ वर्षभित्रै आयोजना सम्पन्न गर्न सकिन्छ,’ उनले भने, ‘जग्गाबाट रोकावट नभएकाले काम तीव्र गतिमा भइरहेको हो ।’ उनका अनुसार प्रभावित क्षेत्रका ९७ प्रतिशत परिवारले मुआब्जा पाइसकेका छन् ।

आयोजनामा पहिलो चरणमा झन्डै ९ अर्ब ८८ करोड रुपैयाँको काम भएको थियो भने दोस्रो चरणमा ६ अर्ब १६ करोड रुपैयाँको काम भइरहेको छ । आयोजनाको लागत ३३ अर्ब १९ करोड रुपैयाँ अनुमान गरिएको छ ।

अहिले आयोजना क्षेत्रमा हेडवर्कस्, सर्ज साफ्ट, पेनस्टक, पावरहाउस निर्माणजस्ता काम भइरहेका छन् । हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल निर्माण तथा जडान कार्यमा अलि समय लाग्ने आयोजनाले जनाएको छ । जसमा चालु आर्थिक वर्षको अन्त्यसम्ममा सिभिल निर्माण कार्यको ३० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ ।