सुर्खेत कर्णाली राजधानी सुर्खेतमा अवस्थित ए.के सञ्चार डटकमले आफ्नो चौथो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।
सोमबार सम्पन्न उक्त कार्यक्रम मिडिया सञ्चालक अप्सरा विष्टको अध्यक्षतामा तथा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीको प्रमुख आतिथ्यतामा ए.के सञ्चारको कार्यालय परिसरमा आयोजना गरिएको थियो।
कार्यक्रममा विज्ञापन प्रकाशनमार्फत निरन्तर साथ दिँदै आएका निजी संघसंस्थाहरूलाई कदरपत्र प्रदान गरिएको थियो। सम्मानित हुनेमा ‘बुलबुले गिफ्ट कर्नर’ र ‘द केक हाउस’ रहेका छन्।
प्रमुख अतिथि जिसीले ए.के सञ्चारले विभिन्न चुनौतीका बाबजुद निरन्तरता दिँदै आएको पत्रकारिताको प्रसंसा गरे। उनले मिडियाको भूमिका विश्वसनीयता निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै प्रदेश सरकारले सञ्चारमाध्यमका लागि नयाँ कदम चालिरहेको जानकारी गराए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले सञ्चालक अप्सरा विष्टको संघर्षपूर्ण यात्रा स्मरण गर्दै हालको अवस्थामा मिडिया सञ्चालन गर्नु नै ठूलो सफलता भएको बताए। उनले विष्ट आचारसंहितामा रहेर निष्पक्ष पत्रकारिता गर्दै आएको उल्लेख गरे।
त्यस्तै, महासंघ कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले सामाजिक सञ्जालको विकृति विरुद्ध सचेत रहनुपर्नेमा जोड दिँदै सत्य र तथ्यमा आधारित पत्रकारिताको खाँचो औंल्याए।
सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मण कँडेलले ए.के सञ्चारले समाजमा सकारात्मक परिवर्तन ल्याउने खालका सामग्री सम्प्रेषण गर्दै आएको भन्दै आगामी दिनमा संस्थालाई सघाउने प्रतिबद्धता जनाए।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष शुसिलराज शर्माले ए.के सञ्चारले मल्टिमिडिया समेट्दै अघि बढेकोमा खुसी व्यक्त गर्दै संस्थाको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष अप्सरा विष्टले थोरै स्रोत, साना लक्ष्य र ठूलो सपना बोकेर सुरु गरिएको यो मिडिया यात्राले चार वर्ष पूरा गरेको जानकारी दिँदै भनिन्, `हामीले सत्य, तथ्य र जनमुखी पत्रकारितालाई आधार बनाउँदै जनताको आवाज बुलन्द गर्ने प्रयत्न गरेका छौं। तपाईंहरूको साथ, माया र हौसलाले हामी अघि बढ्न सक्यौं।`
उनले आगामी वर्षहरूमा अझ नयाँ दृष्टिकोण, ऊर्जा र सिर्जनशीलताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै, कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि, शुभेच्छुक र समर्थकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरिन्।


प्रतिक्रिया दिनुहोस्