होटल व्यवसायीलाई पनि कोरोनाको खोप लगाउन पहल गरिने छ : मन्त्री बुढाक्षेत्री

 

सुर्खेत। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कोरोना भाईरस (कोभिड–१९) विरुद्धको खोप होटल व्यवसायीहरुलाई पनि लगाउन पहल गरिने बताएका छन् । बिहीबार होटल व्यवसायी संघ सुर्खेतद्धारा जारी गरिएको माग पत्र बुझ्दै उनले सो कुरा बताएका हुन् ।

‘अहिले हाम्रो प्राथमिकता भनेको नागरिकको स्वास्थ्य हो, त्यसैले सबै नागरिकलाई खोप लगाउने लक्ष्य छ । सोही अनुसार स्वास्थ्यकर्मी, सञ्चारकर्मी, जेष्ठ नागरिक, सफाईकर्मी र शिक्षकले खोप लगाउने काम भइरहेको छ,’उनले भने, ‘होटल व्यवसायी र यहाँ काम गर्ने कर्मचारीहरु पनि कोरोनाको जोखिम हुने भएकोले केन्द्र सरकारसँग समन्वय गरी खोप लगाउन प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयले पशल गर्नेछ ।’ कोरोना महामारीको चपेटामा होटल व्यवसाय क्षेत्र पनि परेकोले यसलाई माथि उकास्ने खालका कार्यक्रमहरु ल्याउने विषमा पनि सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण भएको मन्त्री बुढाक्षेत्रीको भनाई छ ।

होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतले कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकोले आवश्यक नीति तथा कार्यक्रमबाट राहत दिन सरकारसँग अनुरोध गरे । ‘बिगत दुई वर्षदेखि हामी थला परेका छौं । राज्यले पनि हामीबाट कर लिन्छ, तर अहिले हामी समस्यामा पर्दा केही राहत दिन सक्दैन,’उनले भने, ‘कोरोना महामारी खोप पनि दिन पनि कञ्जुस्याईं गरिरहेको छ ।’ अध्यक्ष रावतका अनुसार सुर्खेतमा मात्र १२ सय ५० होटलहरुमा पाँच हजार कर्मचारीहरु रहेका छन् । कर्णालीका होटल व्यवसायी र त्यहाँ काम गर्ने कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप लगाउनुपर्ने माग समेत गरेका छन् ।