सल्यानका होटल व्यवसायिहरुद्धारा कोरोना विरुद्धको खोप माग

सल्यान । सल्यानका होटल व्यवसायिहरुले कोरोना भाइरस विरुद्धको खोप माग गरेका छन् । उनीहरुले कोरोना भाइरसको संक्रमण बढ्दै गएको र यस्तो अवस्थामा होटल व्यवसायिहरु पनि कोरोना भाइरसको उच्च जोखिममा रहेकाले कोरोना भाइरस विरुद्धको खोपको व्यवस्था गर्न माग गरेका हुन् ।

पछिल्लो समयमा वजारक्षेत्र तथा होटलहरुमा सेवाग्राहीको संख्या बढ्दै गएकाले कोरोनाको जोखिम बढेको उनीहरुको भनाई छ । सल्यान जिल्लाभर साना ठुला गरेर झण्डै सात सय बढी होटल रहेको होटल व्यवसायि संघ सल्यानले जनाएको छ । यी साना तथा ठुला होटलहरुमा सेवाग्राहीको संख्या बढ्न थालेका छन् ।

जसले गर्दा कोरोनाको जोखिम बढेको र सरकारले कोरोना भाइरस बिरुद्धको खोपको व्यवस्था गरिदिनुपर्ने उनीहरुले माग समेत गरेका छन् । जिल्लामा करिब तीन दर्जन ठुला होटल, छ दर्जन बढी मझौला र बाँकी साना होटल रहेका छन् ।

प्रायः बाहिरी क्षेत्रबाट आउने सेवाग्राहीहरुबाट कोरोनाको जोखिम धेरै रहेको होटल व्यवसायि संघ सल्यानका बरिष्ठ उपाध्यक्ष बिकास डिसीले बताए । उनले दैनिक रुपमा होटलमा आउने सेवाग्राहीहरु सँग घुलमिल हुने भएकाले कोरोनाको जोखिम धेरै भएको बताएका छन् । यसका लागि सरकारले अन्य क्षेत्र जस्तै होटल व्यवसायलाई प्राथामिकता दिएर खोप अभियान सञ्चालन गर्नुपर्ने उनको माग छ ।

जति मात्रामा नागरिकको जमघट हुने सार्वजनिक स्थलमा कोरोनाको जोखिम रहन्छ, त्यही जोखिम होटलमा पनि रहन्छ, कोरोनाबाट कुन सुरक्षित छ, कुन छैन् भनेर थाहा हुदैन्, हाम्रो व्यवसाय सेवामुलक भएकाले सेवा दिनु नै प¥यो’ उनले भने ‘एकातिर कोरोनाका कारण आर्थिक मन्दी छ, लामो समयपछि होटल सञ्चालन भएका छन्, अर्को तीर कोरोनाको जोखिम पछि त्यतिकै छ ।’

होटल व्यवसायि महासंघ कर्णाली प्रदेशका बरिष्ठ उपाध्यक्ष मान बहादुर वलीले प्रथामिकताको आधारमा होटल सञ्चालक तथा होटलमा कार्यरत कर्मचारीहरुलाई कोरोना खोपको व्यवस्था गरिनुपर्ने बताए । जिल्लाभरका झण्डै ४ हजार होटल व्यवसायि तथा यस क्षेत्रमा कार्यरत कर्मचारीको लागि खोपको व्यवस्था गरिनुपर्ने उनको भनाई छ ।

उनले कोरोना जोखिमका कारण केही सेवाग्राहीहरु होटलमा बस्न समेत आनाकानी गर्ने गरेको बताए । कोरोनाका कारण अस्तव्यस्त बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रलाई प्राथामिकता दिनुपर्ने बताउदैँ उनले बाहिरी जिल्लाबाट यस जिल्लामा आएर बस्ने र यसले आर्थिक उपार्जनमा टेवा पु¥याउने गरि सोच्नुपर्ने बताए ।   होटल क्षेत्रलाई पनि प्राथामिकतामा राखेर खोप लगाउनुपर्ने उनको माग छ ।