सुर्खेत । राष्ट्रिय जनगणना सम्बन्धी कार्यशाला गोष्ठी आइतबार (आज) सुर्खेतमा सम्पन्न भएको छ । आगामी २५ गतेदेखि सुरु हुने राष्ट्रिय जनगणनालाई मध्यनजर गर्दै केन्द्रीय तथ्याङ्क विभागसँगको सहकार्यमा युएनएफपीए नेपाल तथा युकेएडको सहयोगमा मिडिया एक्सन नेपालले गोष्ठीको आयोजना गरेको हो । गोष्ठीमा जनगणनाको समाचारको रिपोर्ट कसरी गर्ने, ध्यान दिनुपर्ने वारेमा प्रशिक्षण दिइएको छ । आउँदो कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म देशभर एकैसाथ राष्ट्रिय जनगणना हुँदैछ ।
जनगणना महत्वपूर्ण सदस्तावेज भएका कारण यस विषयमा सञ्चारकर्मीहरुलाई रिपोर्टिङमा सहजहोस् भन्ने उद्दश्येल कार्यक्रमको आयोजना गरिएको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जानकारी दिए । उनले जनगणना सम्बन्धीका हरेक मुद्दालाई सञ्चार माध्यममा ल्याउनुपर्ने र राज्य निगरानी बढाउन सुझाव दिए ।
केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा.हेमराज रेग्मीले यसअघिकोभन्दा आउँदो जनगणनामा विविधता रहेको कुनै पनि नागरिक नछुट्न र गणकलाई सही तथ्याङ्क उपलब्ध गराउन सुझाव दिए । संघीयतापछि पहिलो पटक हुन लागेको राष्ट्रिय जनगणनामा नागरिकको संख्यासहित आर्थिक, सामाजिक, शैक्षिक जस्ता विविध विषयबस्तुहरुको पनि तथ्याङ्क लिइने छ । जनगणनाकै तथ्याङ्कलाई आधार मानेर सरकारले नीति नियम तथा योजना तर्जुमा गर्ने भएका कारण गणकलाई सही तथ्याङ्क उपलब्ध गराउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले जनगणना जस्तो संवेदनशील क्षेत्रमा प्रारम्भीक ज्ञान आवश्यक रहेको बताए । गोष्ठीले सञ्चारकर्मीलाई महत्वपूर्ण ज्ञान दिएको बताए । त्यस्तै जनगणना कार्यालयका प्रमुख पोम नारायण पौडेलले जनगणनाको राष्ट्रिय अभियानलाई सफल बनाउन हरेक नागरिकले गणकलाई सही तथ्याङ्क उपलब्ध गराउनुपर्ने बताए ।
कार्यक्रममा पन्त, रेग्मी, पौडलसहित तथ्यांकशास्त्री सहनलक्ष्मी ताम्राकार र मिडिया तथा जेन्डर विज्ञ कल्पना आचार्यले तथ्यांकको महत्व, जनगणनाको आवश्यकता, जनगणना जागरुकता निर्माणमा संचारमाध्यमहरुको भूमिका, जनगणनासम्वन्धी भ्रामक सूचना पहिचान तथा नियन्त्रणका विषयमा सेसनगत प्रशिक्षण दिएका थिए । कार्यक्रममा सुर्खेतका करिव २५ जना पत्रकारहरुको सहभागिता थियो ।
ए.के. सञ्चार । ७ कार्तिक २०७८, आईतवार १९:३८