सुर्खेत। कर्णाली प्रदेश सभाकाे आजकाे बैठकले कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ माथिकाे छलफल गरियोस्` प्रस्ताव बहुमतले स्वीकृत गरेकाे छ।
त्यसअघि विधेयकमाथिकाे सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नकाे जवाफ मुख्यमन्त्री यामलाल कँडेलले दिएका थिए।
मुख्यमन्त्री कँडेलले संघीयता कार्यान्वयनको निम्ति सबै कानुन महत्वपूर्ण हुने बताए। त्यसमा पनि प्रदेश प्रहरी ऐन संघीयताको मुख्य अभिन्न हिस्सा भएको जानकारी दिए।

उनलेे भने,` याे कानुन आफैमा विशिष्ट महत्व राख्ने कानुन हो। जुन कुरा एकल प्रयासबाट सम्भव नभएकै कारणले गर्दा बाहिर यसैलाई आधार बनाएर संघीय सरकारको समयसमयमा नेतृत्व गर्ने सबै राजनीतिक दलहरूलाई टिप्पणी गरिरहेको अवस्था छ।`
विधेयकमाथिकाे सैद्धान्तिक छलफलमा सांसदहरु कृष्णबहादुर जिसी, हिक्मत विष्ट, टेकराज पछाई र सन्ताेषि शाहीले भाग लिएका थिए।
प्रदेशमा शान्ति सुरक्षा कायम गर्दै अपराध अनुसन्धान, रोकथाम र नियन्त्रण मार्फत संविधान प्रदत्त मौलिक हक, मानव अधिकारको संरक्षण तथा नागरिक स्वतन्त्रताको रक्षा गर्ने उद्देश्यले प्रदेश प्रहरीको गठन, सञ्चालन, सुपरिवेक्षण, समन्वय, व्यवस्थापन र नियमनका लागि यो ऐन ल्याइएको हो।

ए.के. सञ्चार । ४ चैत्र २०८१, मंगलवार २०:०६