सुर्खेतमा आधारभूत पत्रकारिता तालिम आजदेखि सुरु

सुर्खेत । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा जिल्ला शाखाको समन्वयमा एक हप्ते आधारभूत पत्रकारिता तालिम बुधवारदेखि सुरु भएको छ । युरोपियन युनियनको सहयोगमा संचालन भएको तालिमको महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले उद्घाटन गर्दै पत्रकारिता गर्दै आएका र नवप्रवेशीहरुका लागि तालिमले सहयोग पु¥याउने बताए । उनले विगतको तुलनामा अहिले पत्रकारिताका विद्यार्थीहरुका लागि तालिमको आयोजना भइरहेकोले यस्ता तालिमलाई अवसरको रुपमा लिएर सक्षम पत्रकार बन्न सुझाव दिए । साथै पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नका लागि महासंघको केन्द्रीय समिति क्रियाशील रहेको पनि उन बताए ।

पत्रकार महासंघका प्रदेश महासचिव खगेन्द्र भट्टराईले तालिमबाट धेरै भन्दा धेरै सिकेर व्यवहारमा उतार्न आग्रह गरे । पत्रकार महासंघका कार्यक्रम संयोजक संघर्ष पन्तले आधारभूत पत्रकारिता तालिम लिएका पत्रकारहरुलाई नै पछि स्तरबृद्धिको अर्को तालिमको आयोजना गरिने जानकारी दिए । मिडिया इन्टरनेशनल अलर्टका बिजय क्षेत्रीले पनि तालिम संचालन र यसको उपादेयतावारे प्रकाश पारेका थिए ।

पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले जिल्लामा सक्षम र गुणस्तरीय पत्रकारहरुको अभाव रहेकोले तालिमले त्यस्ता पत्रकार बन्न सघाउने विश्वास व्यक्त गरे । पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सुदीप पुरीले स्वागत र सहसचिव ईश्वर अधिकारीले संचालन गरेको तालिममा महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्मालगायतको उपस्थिति थियो । यही मंसिर १४ गतेसम्म संचालन हुने तालिमको सहजीकरण पत्रकार महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले गरेका छन्। तालिममा जिल्लाका विभिन्न संचारमाध्यमहरुमा कार्यरत ४० जना पत्रकारहरुको सहभागिता रहेको छ ।