किन बढ्यो त गुर्भाकोटमा काँग्रेसमा प्रवेशको लहर

सुर्खेत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै गुर्भाकोट नगरपालिकामा कांग्रेसतर्फ जनलहर बढेको छ । आसन्न स्थानीय तह निर्वाचनमा केन्द्रीत भएर पाटीले आफ्ना गतिविधि सञ्चालन गर्दै गर्दा उनिहरु कांग्रेसतर्फ आकर्षित भएका हुन् । शुक्रवार मात्र माओवादी तथा एमालेका एक सय जनाले काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा माओवादी गुर्भाकोट नगर कमिटीका सदस्यहरु तथा एमाले साविक सहारे गाउँ विकास समितिका अध्यक्षलगायतका काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस जिल्ला कार्य समिति सुर्खेतका नविन सुनारले जानकारी दिए ।

गुर्भाकोट नगरपालिका वडा नम्वर ९ र ४ ले संयुक्त रुपमा आयोजना गरेको चुनाववी आमसभामा अन्य पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका छन् । यस अघि करिव पाँच सयले विभिन्न पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका छन् । चुनावी अभियान सुरुवात गरिएसँगै ६ सय बढीले अन्य पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसको उम्मेदवार र उनिहरुको एजेण्डाप्रति आकर्षित हुँदै आफुहरु अन्य पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेको काँग्रेसका नगर सचिव रुपक पौडेलले जानकारी दिए । ‘प्रत्येक दिन वडामा हुने चुनावी कार्यक्रममा अन्य पार्टीबाट परित्याग गरि काँग्रेसमा आउनेको लर्काे छ’ पौडेलले भने, ‘काँग्रेसले गरेका विकास निर्माण र नगरमा सञ्चालन गरेका कार्यक्रमका कारण काँग्रेसमा सबैको आर्कषण बढेको छ ।’

आज भएको चुनावी सभामा नेपाली काँग्रेस सुर्खेतका उपसभापति विष्णु खड्काले काँग्रेसले नगरमा गरेको समृद्धिको कारण यस पार्टीप्रति सबैको आर्कषण बढेको बताए । उनले नगरलाई अझै समृद्ध बनाउन काँग्रेसले नै जित्नुपर्ने बताए ।

‘गुणस्तरिय शिक्षा, सर्वसुलभ उपचार, गुर्भाकोट नगरमा फेरि पनि काँग्रेसको सरकार’ भन्ने नारासहित गुर्भाकोटमा कांग्रेस स्थानीय चुनावमा होमिएको छ । गुर्भाकोट नगरपालिकाको नगरप्रमुखमा हस्त पुन: र उपप्रमुखमा मैना विक उम्मेदवार रहेका छन् ।

अधुरा रहेका विकास निर्माणका योजनाहरु पुरा गर्नुका साथै समृद्ध नगरपालिका निर्माण गर्ने योजना सहित काँग्रेसका उम्मेदवारहरु घरदैलो कार्यक्रमलाई अगाडी बढाएका छन् । त्यसैगरी , नगरपालिकालाई आर्थिक र सामाजिक रुपमा विकास गर्ने, आम नागरिकलाई सर्वसुलभ स्वास्थ्य र गुणस्तरीय शिक्षा उपलब्ध गराउने, स्वरोजगार नीतिमा जोड दिने लगायतका प्रतिवद्धता जनाएका छन् । आफ्ना घोषणापत्रको साथमा नगरका सबै वडाहरुमा घरदैलो कार्यक्रममा उम्मेदवारहरु पुगेका छन् ।