आज साउन १५ अर्थात खीर खाने दिन

सुर्खेत । आज खिर खाएर साउनको १५ मनाइँदै छ । एक महिनाअघि असार १५ गते दही चिउरा खाए जस्तै साउनको १५ मा खिर खाने चलन छ ।असार १५ मा दही चिउरा खाँदै रोपाइँ गरेका किसानले असारको व्यस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खिर खाने गर्दछन् ।

वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खिर खाने गरिएको बताइन्छ । असार महिनाभरि हिलोमा काम गर्दा चिसो लाग्ने र तातो खिर खाँदा चिसोबाट जोगिने जनविश्वास छ ।

परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् । नेपाल डेरी एसोसिएशनका अनुसार अघिपछिको तुलनामा आज झन्डै ५ गुणाभन्दा बढी दूध खपत हुन्छ ।आज झन्डै ५० लाख लिटर दूध बिक्री हुने र यसबाट झन्डै ५० करोड रुपैयाँ बराबर कारोबार हुने एसोसिएशनले जनाएको छ ।

नेपालमा मात्रै होइन भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ । साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन् ।

गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोषिला परिकारहरू, खासगरी खीर खाने चलन छ । यससँगै मौसमी फलफूल र मसला पनि खाने गरिन्छ ।