सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी (जितेन्द्र) ले प्रदेश सरकारले अब छिट्टै आमसञ्चार प्रतिष्ठान गठनका लागि विधेयक ल्याउने बताए । सुर्खेतमा आइतबार नेपाल प्रेस सेन्टरको १९ औँ स्थापनाको अवसरमा मन्त्री जिसीले आम सञ्चार प्रतिष्ठानमार्फत सञ्चार क्षेत्रलाई प्रविधि मैत्री बनाउने बताएका छन् ।
उनले पत्रकारिता जगतमा देखिएका पत्रकारका गुनासा आगामी बजेटबाट सम्बोधन कसरी गर्न सकिन्छ भन्ने विषयमा आवश्यकता अनुसार परामर्श गरिने जानकारी दिए । सूचना प्रविधिमा भएको विकासले शान्ति सुरक्षामा समेत चुनौती थपिएको भन्दै मन्त्री जिसीले प्रादेशिक तहमा सचेतनामूलक कार्यक्रमका सहितका सुरक्षा योजना बनाउने गरी तयारी भइरहेको बताएका छन् । मन्त्री जिसीले कर्णालीका जनतालाई सत्य सूचना र खबरदारी गर्न कर्णालीका पत्रकारहरूले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताए ।
ए.के. सञ्चार । १५ माघ २०७९, आईतवार १७:१३