मलाई गोठालोमात्रै भएर बस्न पटक्कै मन थिएन:  खैरुन निशा

नाम खैरुन निशा । मेरो घर वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा पर्छ । मसंग थुप्रै कथा ब्यथा छ, कर्णाली उत्सवले दिएको १५ मिनेट भित्रमा सबै सुनाउन सक्दिन होला । जति सक्छु सुनाउने प्रयास गर्छु । म हुर्किदै गरेको त्यतिखेरको समयमा छोरीलाई पढाउनुपर्छ भन्ने भावना न महिलामा थियो न त अरु समुदायमा नै ।

म घरकी जेठी छोरी, मेरो बुवाले मेरा दाइ र बहिनीलाई स्कुल पठाउँदा मलाई भने स्कुल पठाउनुभएन । मलाई गोठालो बनाउनुभयो । मलाई गोठालोमात्रै भएर बस्न पटक्कै मन थिएन । पढ्ने लालसाले नै म बुवासँग लड्दै लड्दै स्कुल गएँ । दाइ र बहिनीहरु स्कुल जाँदै गर्दा मलाई भने त्यही स्कुल जान बुवासँग लडाईं गर्नुपर्ने भयो । स्कुल पुगिसकेपछि पनि बुवाले मलाई भर्ना गर्न नै मान्नुभएन । तर प्रधानाध्यापकले मेरो नाम निशुल्क लेखाइदिनुभयो । मैले पढ्ने सपना पुरा गर्ने अवसरको त्यो पहिलो खुड्किलो थियो । निशुल्क स्कुल पढ्न पाएपछि म पाँच कक्षासम्म पहिलो भएँ । तर ६ कक्षादेखि माथि पढ्न आर्थिक स्रोत जुटाउन नसकेपछि मेरो स्कुल जाने सिलसिला त्यही रोकियो । पढ्न नपाएको पछुतो अहिले पनि छ, जीवनभर नै रहनेछ । तर जति पढेको थिएँ, त्यति नै भए पनि सदुपयोग गर्न भने पाएँ ।

१३ वर्षको हुँदा मेरो विवाह भयो । कसैले केही भन्यो भने रुने बाहेक अरु गर्न सक्दिनथेँ । भाग्यवश २०५२ सालमा त्यो शिक्षा सदुपयोग हुने अवस्था आयो । म महिला स्वास्थ्य स्वयमसेविका हुन पाएँ । अरु साथीहरुले पाँच कक्षासम्म पनि पढ्न नपाएका कारण मैले अवसर पाएकी हुँ । मुस्लिम समुदायमा धेरै बच्चा जन्माउने चलन थियो । स्वास्थ्य स्वयम्सेविका भएपछि मैले जन्मान्तर नै नगरि धेरै बच्चा जन्माउने सिलसिला तोड्नुपर्छ भन्नेतिर मेरो ध्यान जान थाल्यो । मैले स्वयमसेविका भएपछि गर्नुपर्ने काम के हो भन्ने कुरा मेरो दिमागमा खेल्न थाल्यो ।

मैले समुदायका साथीहरुलाई अस्थायी साधन प्रयोग गर्न लगाएँ । त्यसअघिसम्म परिवार नियोजन हाम्रो समुदायमा बर्जित जस्तै थियो । त्यही सोचका कारणले पनि होला साथीहरुलाई गलत काम भयो भन्ने भएछ । हाम्रो समाजमा तीनपटक तलाक भनेपछि घरबाट निस्किनुपथ्र्याे । त्यसका लागि पनि अभियान चलाएँ । तलाकलाई कानुनले मान्यता दिएको थिएन,त्यसो गर्नेलाई कानुनको कठघरामा उभ्याउने अभियान मैले चलाएँ । मेरो अभियानले महिलालाई त सहयोग पुग्यो तर पुरुषहरुले मलाई समाज भाँडेको आरोप लगाए ।

त्यसो हुँदा मेरो समाजलाई असह्य भयो । मलाई किन अभियान चलाइस र किन यो कुरा सार्वजनिक गरिस् भनेर पुरुषहरुले मस्जिदभित्र लगेर कठघरामा घुडा टेकाएर माफी माग भन्नुभयो तर मैले माफी मागिन । किन भने मलाई असल काम गरेको छु भन्ने मलाई त्यो बेला पनि लागेको थियो, अहिले पनि लाग्छ । मैले उहाँहरुलाई जितेर उठें तर मलाई लाञ्छना लाग्न छोडेन । त्यसपछि मैले जीवनमा विर्सिनै नसक्ने चुनौति खेपें । तर महिला, समाजप्रति गर्ने दायित्वबाट पछि हटिन । बरु महिलाका लागि सहयोग माग्न कुनै ठाउँ बाँकी राखिन । मैले अशक्तहरुलाई सहयोगका लागि मैले सहयोग गर्न थालें । अप्ठ्यारोमा परे पनि सहयोग गर्न छोड्न हुन्न र मलाईजस्तै अरु अप्ठ्यारो नपरोस् भनेर म निरन्तर काममा लागिरहेँ । त्यसो गर्दा मैले समाजबाट हौसला पाउनुपर्ने थियो । तर समाजबाट जुन हौसला पाउनुपर्ने थियो, पाइन तर मैले जिम्मेवारी छोडिन । खोप लगाउने,गर्भवती महिलालाई जचाउन सँगै जान्छु ।

मैले कुनै जात भनिन, कुनै समुदाय भनिन । मैले अहिले विकास निर्माणमा पनि आफ्नै नेतृत्वमा गाउँको दुई तर्फी नाला बनाएको छु, बाटो बनाएको छु । तपाईंहरुलाई पनि म भन्छु, जस पाइन भनेर कोही पनि साथीहरु पछाडि नहट्नुहोला काम गर्न चाहेपछि पढाइले रोक्दो रहेनछ । भोलि राम्रो काम गरेर मर्नुपर्छ म मरे पनि मेरो नाम जिवित रहन्छ भनेर अघि बढ्नुपर्छ । तिरस्कारको मानसिकता नराख्नुहोला तिरस्कारको मानसिकताले कहिल्यै अघि बढ्न सकिन्न ।

चुनौतिले नै मलाई आँट बढायो । म पछि हटिन । मैले पुरस्कार पाउन काम गरेको हैन, तर म मरे पनि मेरो नाम अमर रहोस् भनेर प्रतिबद्ध भएर लागेको छु । त्यतिखेर मलाई मश्जिदको कठघरामा उभ्याउनेहरु मलाई अहिले सफल मान्नुहुन्छ । हिजो म सही बाटोमा हिडेकोले त्यतिबेला तिरस्कार गर्नेहरुले अहिले मलाई अंगालो हाल्नुभएको छ । त्यसले मलाई खुसी दिन्छ ।

मुस्लिम समुदायमा परिवार नियोजनको अभियान थाल्ने पहिलो महिला खैरुन निशाले कर्णाली उत्सवमा दिएको मन्तब्य