विभिन्न क्षेत्रमा अलपत्र पर्यटकको तत्काल उद्धार गर्न पर्यटनमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौ। काठमाडौ, २६ असोज।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् ।

पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले विपद्मा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हुन । निरन्तर परेको वर्षा र प्रतिकूल मौसमका कारण पर्यटकहरु बीचबाटोमै अलपत्र परेका तथा सम्पर्कमा आएका कतिपय पर्यटकलाई उद्धार गरिएको मन्त्री श्रेष्ठले जनाएका छन् ।

अझै हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा पर्यटक अलपत्र भएको गुनासोपछि मन्त्री श्रेष्ठले उनीहरुलाई तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन । मनाङ, गोरखा, मुस्ताङ र उपल्लो डोल्पालगायत हिमाली क्षेत्रमा पर्यटकहरु पुगेका छन् । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण उनीहरु बीचबाटोमै अलपत्र परेका छन् ।

यस वर्षको शरद ऋतुमा विभिन्न हिमाल आरोहण र पदमार्गमा गएका तीन जनाले ज्यान गुमाएका छन् ।प्रतिकूल मौसमकै कारण हवाई उडानमा समेत असर पुग्दा आधार शिविर, लुक्ला, रामेछापको मन्थलीलगायतका क्षेत्रमा आरोही रोकिएका छन् ।