जुम्लामा एमबीबीएसको कक्षा सुरु

सुर्खेत । जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह एमबीबीएसको कक्षा सुरु भएको छ । एमबीबीएसको कक्षा सुरु भएसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्ने भएको छ ।

सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले २०६८ सालमा जुम्ला सदरमुकाममा रहेको खलङ्गामा प्रतिष्ठानको स्थापना गरेको थियो ।

चिकित्सा शिक्षा आयोगको गएको जेठ २९ गते सम्पन्न बैठकले प्रतिष्ठानलाई एमबीबीएस तहमा २० सिट अध्यापन गराउने स्वीकृति दिने निर्णय गरेको थियो ।

आयोगले पहिलो पटक लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्ये प्रतिष्ठानका लागि निर्धारण गरिएका सिट मध्ये हिजो १५ जना भर्ना भएका छन् ।

प्रतिष्ठानमा पहिलो पटक यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी) को अध्यापन सुरुआत भइसकेको छ । प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी) र नर्सिङको अध्यापन पनि सुरु गरेको छ ।