सुर्खेत । १५ वर्षअघि एक युवकको हत्या अभियोगमा नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठनकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहलगायत ६ जनालाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता इन्स्पेक्टर कृष्णबहादुर खड्काका अनुसार कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या संलग्न आरोपमा उनीहरूलाई पक्राउ गर्न अदालतले शुक्रबार अनुमति दिएको हो ।
अदालतबाट पक्राउको अनुमति पाइसकेका छौं खड्काले भने, ‘निजहरूको खोजी गर्दैछौं ।’ सुर्खेतको जनमाविमा अध्ययनरत् राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या गरिएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएकोमा बुबाले १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए ।
बुबाको किटानी जाहेरीअनुसार महावै गाउँपालिकाकी सिंहसहित, पदमबहादुर रावत, ‘गुराँस’ नाम गरेका बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
ए.के. सञ्चार । ७ माघ २०८०, आईतवार १८:०३