कर्णालीकाे विकासका लागि सामुहिक जिम्मेवारीका साथ लाग्नु पर्छ: मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपश्चिम विश्वविद्यालयको स्थापनाको मूल मर्म समग्र कर्णाली प्रदेशको विकास र उन्नयन रहेको बताएका छन् ।

साेमवार मध्यपश्चिम विश्वविद्यालयको १४ औं स्थापना दिवसको अवसरमा मुख्यमन्त्री कँडेलले विश्वविद्यालयले आफ्नो भूमिका निर्वाह गर्न सकेमा कर्णाली प्रदेशको अवस्था परिवर्तन गर्नमा टेवा पुग्ने विश्वास रहेकाे बताएका हुन् ।

मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशको शैक्षिक क्षेत्रमा प्रदेश सरकारले आवश्यक सहयोग र सहकार्यका लागि नीति तथा कार्यक्रम मार्फत सम्बोधन गरेकाे जानकारी दिए ।

विश्वविद्यालयलाई मैनवत्ती र ऐनाको रुपमा बिम्बित गर्दै विश्वविद्यालय समाज सुधारको प्रमुख अंग हाे उनले भने,` जसका लागि सम्बन्धित सबैले सामुहिक जिम्मेवारीका साथ कर्णालीको विकासमा लागि पर्नु पर्छ ।`

यस्तै, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुबकुमार गौतमले विश्वविद्यालयलाई एक उत्कृष्ट विश्वविद्यालयको रुपमा स्थापित गर्नु आफ्नो कार्ययोजनाको मूल मर्म रहेको बताएका छन् । उपकुलपति गाैतमले विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी र सरोकारवाला सबैको साझा थलो भएकाले सबैले आ-आफ्नाे तर्फबाट सहयोग गरेर विश्वविद्यालयलाई अगाडी बढाउन सक्ने विश्वास व्यक्त गरे ।

कर्णाली बासीको गौरवको रुपमा रहेको मध्यपश्चिम विश्वविद्यालय स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार लगायत विकास साझेदार, निजी संस्था सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थापना दिवसको अवसरमा सर्वोत्कृष्ट प्राध्यापक, अनुसन्धानकर्ता, कर्मचारी र विद्यार्थीहरुलाई पुरुस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।