एसईईको नतिजा आज प्रकाशन हुँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन हुँदैछ । बिहान १० बजेसम्म प्रकाशन गर्ने तयारी भएको छ ।

बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै आज प्रकाशन गर्न लागेको हो ।

नतिजा प्रकाशनबारे निर्णय गर्न बिहानै राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको छ ।

१५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।