सुर्खेतमा निर्वाचन अवधिभर मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्वाचन अवधिभर साँझ ८ बजेदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले राजनीतिक दलसहितको सर्वपक्षीय छलफलपछि मदिरामा कडाइ गर्ने निर्णय गरेको हो ।

सर्वपक्षीय बैठकले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन, निषेधित समयमा मदिराको कारोबार तथा सेवन नगर्न जिल्लाबासीमा अपिल गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, ‘आम सञ्चारमाध्यम, सामाजिक सञ्जालमार्फत राजनीतिक दल, उम्मेदवार, मतदाता, निर्वाचन कार्यमा खटिएका कर्मचारी, सुरक्षाकर्मी कोही कसैप्रति लक्षित गरी गालीगलौज गर्ने, अफवाह फैलाउने, निर्वाचनविरोधि सन्देश प्रवाह गर्नेजस्ता अवाञ्छित गतिविधिहरु नगर्न÷नगराउन र प्रचलित कानून एवं निर्वाचन आचारसंहिता विपरीत कुनै गतिविधि भएमा कानूनी कारबाही गर्न सचेत गराइन्छ ।’