प्रदेश सभाबाट कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।

शुक्रबार बसेको प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको २१ औं बैठकबाट बजेट पारित भएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले ‘विनियोजन विधेयक २०८१ बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री महेन्द्र केसीले जवाफ दिएका थिए ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको कुल बजेट ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याइएको छ ।

जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात २४.१२ प्रतिशत बजेट ल्याएकाे छ । वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन गरिएको छ ।

यसअघि बजेट विवादमा परेकाे थियाे । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तापक्षका सांसदहरूले असहमति जनाएका थिए । कांग्रेसले लगातार संसद् अवरुद्ध गरेपछि सरकारले ९ बुँदे सम्झौता पछि मन्त्रालयगत बजेटमाथि छलफल हुन सकेको थियो । बजेट पारित भएसँगै प्रदेश सरकारलाई आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने बाटो खुलेको छ ।