पहिराले अवरुद्ध कर्णाली राजमार्ग र करिडोर चार दिनपछि खुल्याे

सुर्खेत । कर्णाली राजमार्ग र करिडोर चार दिनपछि खुलेको छ । शुक्रबार साँझबाट परेकाे अविरल बर्षाका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग र करिडोर मंगलबार खुलेकाे हाे ।

कर्णाली राजमार्गको एस मोड र गगने खोलाको बीचमा पहिरोसँगै आएको ढुंगाका कारण अवरुद्ध राजमार्ग अवरुद्ध थियाे । चार दिनपछि ब्रेकरले ढुंगा र पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो ।

चार दिनदेखि अलपत्र परेकाे यात्रुवाहक र मालवाहक गाडी सञ्चालनमा आएका छन् । दैलेख र कालिकाेटकाे खिड्कीज्यूला, दैखोला, हुल्म, कालेखोला, मान्म लगायतका ठाउँमा रोकिएका यात्रुवाहक र मालवाहक गाडी सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय कालिकाेटका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए ।

उनका अनुसार वर्षाले अवरुद्ध कर्णाली राजमार्गमा आएको ढुंगा दुई दिन लगाएर ब्रेकरले फुटाएपछि दिउँसो ३ बजेबाट संचालनमा आएको बताए ।

हिजोदेखि निरन्तर ढुंगा फुटाएकाे हाे उनले भने,` बल्ल ढुंगा फुटाएर एकतर्फी सडक सञ्चालन गर्न सफल भयाैं । ढुंगालाई फुटाउन दुई वटा ब्रेकर लगाएका थियौं ।`

त्यस्तै, वर्षाले अवरुद्ध भएको कर्णाली करिडोर पनि सञ्चालनमा आएकाे छ । कालिकोटकाे रेगिंल भीरको पहिरो पन्छाएपछि कर्णाली करिडोर पनि सञ्चालनमा आएको हाे ।

कर्णाली करिडोर कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका,
रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका, पलाता गाउँपालिका, बाजुराको पूर्वी भेग, मुगुको खल्याड र हुम्ला जाने यात्रुवाहक र मालवाहक गाडी सञ्चालन भएका छन् ।