सुर्खेत । प्रेस चौतारी नेपाल सुर्खेतको नेतृत्वमा मुना हमाल चयन भएकी छन्। सातौं जिल्ला अधिवेशनबाट हमाल निर्विरोध अध्यक्षमा निर्वाचित भएकी हुन्।
नवगठित कार्यसमितिमा उपाध्यक्ष खुल्लातर्फ दिनेशकुमार बुढा र महिलातर्फ चन्द्रा कँडेल चयन भएका छन्। यस्तै, सचिवमा रजनी योगी, सह-सचिवमा कुलेन्द्र शाही र कोषाध्यक्षमा तेजबहादुर रोकाया चयन भएका छन्। सदस्यहरूमा कल्पना ढेंगा मगर, कल्पना हमाल, नन्द कठायत, विनोद घिमिरे, बिक्रम कुमार विश्वकर्मा र चन्द्रबहादुर वली रहेका छन्।

अधिवेशनको उद्घाटन गर्दै नेकपा (एमाले) कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहले पत्रकारिताको दायरा फराकिलो बनाउँदै सशक्त बनाउनुपर्नेमा जोड दिए। उनले सूचना प्रविधिको तीव्र विकासले पत्रकारिताको क्षेत्र व्यापक बनेको भन्दै सत्यतामा आधारित समाचार प्रवाह गर्न पत्रकारहरू जागरूक हुनुपर्ने बताए।
उनले पत्रकारिता क्षेत्रलाई संकुचित पार्ने प्रवृत्ति बढिरहेको भन्दै त्यसलाई चुनौती दिनुपर्ने धारणा राखे। राज्यले कहिलेकाहीँ गल्ती गर्न सक्छ, पत्रकारहरूले त्यसलाई सही मार्गमा ल्याउन पहल गर्नुपर्छ,`शाहले भने।
सातौं जिल्ला अधिवेशनबाट गठन भएको नयाँ नेतृत्वले सुर्खेतमा प्रेस स्वतन्त्रता र पत्रकारहरूको हकहितका पक्षमा सशक्त रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

ए.के. सञ्चार । २३ माघ २०८१, बुधबार १७:२८