२०८२ असार १० , मंगलबार

सुर्खेतमा बजाज पल्सर एन १२५ सार्वजनिक



सुर्खेत । बजाजको नयाँ मोटरसाइकल पल्सर एन १२५ अब सुर्खेतमा पनि पाइने भएको छ। असिम अटो पाट्सले सोमबार आयोजना गरेको विशेष कार्यक्रममार्फत मोटरसाइकलको सार्वजनिक लन्चिङ गरेको हो।

सुर्खेतको असिम अटो पाट्समा आयोजित कार्यक्रममा पल्सर एन १२५ को लन्चिङ सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्ष विक्रम खड्काले गरेका थिए। उनले लन्चिङ समारोहमा यस्ता प्रविधि मैत्री तथा आकर्षक मोटरसाइकलले युवाहरूमाझ रोजाइ बढाउने विश्वास लिएकाे बताए।

कार्यक्रममा असिम अटो पाट्सका सञ्चालक लक्ष्मण कँडेलले सुर्खेतका ग्राहकहरूका लागि पल्सर एन १२५ आधिकारिक रूपमा उपलब्ध गराएको जानकारी दिए। उनका अनुसार,`आजको दिनमा मोटरसाइकल बुकिङ गर्ने ग्राहकलाई हेलमेट उपहार दिइनेछ।`

पल्सर एन १२५ को बजार मूल्य रु २ लाख ९७ हजार ९ सय निर्धारण गरिएको छ। यो बाइकले टीभीएस रेडर १२५ र हिरो एक्स्ट्रीम १२५ जस्ता मोडेलहरूलाई सिधा प्रतिस्पर्धा दिने दाबी कँडेलले गरे।

बजाजको एन सिरिज अन्तर्गतको सबैभन्दा सानो तर अत्याधुनिक मोटरसाइकल मानिएको एन १२५ मा १२४.५९ सीसी क्षमताको बीएस ६ सर्टिफाइड सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन दिइएको छ। यस इन्जिनले ८,५०० आरपीएममा १२ पीएस पावर र ७,००० आरपीएममा ११ एनएम टर्क उत्पादन गर्छ। ५ स्पीडको गियरबक्स यसमा उपलब्ध छ।

सस्पेन्सन सेटअपमा अगाडि कभरसहितको आरएसयू टेलीस्कोपिक फोर्क र पछाडि प्रिलोड एड्जस्टेबल मोनोशक सस्पेन्सन दिइएको छ। अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक, साथमा १७ इन्चको अलोय ह्वील, बाइकको सुरक्षामा थप योगदान पुर्‍याउने कंडेलको भनाइ थियो।

डिजाइन पक्षमा, बाइकमा एग्रेसीभ लुक, मस्कुलर ट्यांक, आकर्षक हेडलाइट, जेड आकारको एलईडी डीआरएल, एलईडी टेल लाइट तथा स्प्लीट सिट प्रयोग गरिएको छ। टर्न इन्डिकेटरमा हेलोजन बल्ब राखिएको छ।

चालकको सुविधाका लागि यसमा यूएसबी चार्जिङ पोर्ट, अपराइट ह्यान्डलबार, डिजिटल एलसीडी स्क्रीन राखिएको छ, जसमा ब्लूटुथ कनेक्टिभिटी, ट्रिप मिटर, स्पीडोमिटर, फ्युल गेज, टेकोमिटर, समय जस्ता सूचना देख्न सकिन्छ।

यसको तौल १२५ किलोग्राम, सिट हाइट ७९५ एमएम र ग्राउन्ड क्लियरेन्स १९८ एमएम छ। कँडेलका अनुसार, `बजाजको यो मोडेल विशेषगरी स्मार्ट, स्टाइलिश र प्राविधिक सुविधामा चासो राख्ने युवा पुस्तालाई लक्षित गरेर ल्याइएको हो।`

प्रकाशित मिति : २०८२ वैशाख २३ गते मंगलबार