
सुर्खेत । पश्चिम सुर्खेतअन्तर्गत मदन भण्डारी राजमार्गको बड्डीचौर–खम्बागाडे सडकखण्ड निर्माणमा अब गति आउने अपेक्षा गरिएको छ। वर्षौंदेखि रुख कटान र जग्गा प्राप्तिको प्रक्रियामा अल्झिएको यो खण्ड अब निर्माण कार्य सहज हुने भएको हाे ।
२०७८ सालदेखि निर्माण सुरु भए पनि यो सडकखण्डको काम सन्तोषजनक हुन सकेको थिएन। तर, २०८१ चैत २६ गतेको मन्त्रिपरिषद्को निर्णयपछि वन कटानीका लागि आवश्यक स्वीकृति मिलेसँगै आयोजना अघि बढ्ने भएको हो। वराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाभित्र पर्ने १० दशमलव ३९९ हेक्टर राष्ट्रिय वन क्षेत्रमा रहेका ८६४ वटा रुख हटाउन स्वीकृति दिइएको हो।
स्वीकृतिपछि आवश्यक कार्यान्वयनका लागि वन तथा भू–संरक्षण विभाग, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय र कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबीच त्रिपक्षीय सम्झौता समेत भइसकेको छ।
पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक सूर्यबहादुर शाहीका अनुसार अबको १० दिनभित्रै रुख कटान सुरु गरिनेछ। उनले भने,`रुख कटान र जग्गा प्राप्तिको झन्झट हटेपछि निर्माणले वास्तविक गति लिन्छ।`

हालसम्म सो सडकखण्डको २० प्रतिशत मात्र भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति १४ प्रतिशतमा सीमित छ। झण्डै साढे १२ किलोमिटर लम्बाइको यो सडकका लागि प्रदेश सरकारले ४२ करोड रुपैयाँ विनियोजन गरेको छ। निर्माणका लागि अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा जिम्मेवारी पाएको छ।
२०७९ मा सुरु भएको काम २०८१ असार १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, निर्माण कम्पनीले समयमै रुख कटान र जग्गा नपाएको कारण देखाउँदै ढिलाइ गर्दै आएको थियो। प्रदेश सरकारले सुरुमा म्याद २०८२ असार १२ सम्म थप गरेको थियो। तर निर्माणमा गति नआएपछि म्याद पुनः २०८३ असारसम्म थप गरिएको छ।
स्थानीयवासीले अधुरो सडकका कारण लामो समयदेखि सास्ती भोग्दै आएका छन्। आधा मात्रै काम भएको सडकखण्ड हिलाम्मे हुँदा यात्रा जोखिमपूर्ण बनेको छ। अब स्वीकृत प्रक्रिया कार्यान्वयनमा आएपछि निर्माणले साँचिकै गति लिने अपेक्षा गरिएको छ।
