करछली गर्ने भुसाल अर्डर एण्ड सप्लायर्समा छापा

सुर्खेत । आन्तरिक राजश्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समा छापा हानेको छ ।

कर छलेको सामान बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा राजस्व कार्यालयले मङ्गलबार साँझ सप्लायर्समा छापा हानेको हो । कार्यालयले कर छलेर ल्याएको २६१ प्याकेट झुम्का सुपरपावर र १४८ प्याकेट बल्ब छाप भएको सुर्तीसमेत बरामद गरेको कर अधिकृत खडानन्द खत्रीले जानकारी दिए ।

कर छली गरी अवैध बाटोबाट सुर्खेत भित्र्याइएको ४०९ प्याकेट सुर्तीजन्य पदार्थ बरामद गरिएको कार्यालयका कर अधिकृत खत्रीले बताए । विशेष सूचनाका आधारमा सप्लायर्समा छापा हान्दा राजस्वको स्टिकर टाँसेकाे नभएको कर अधिकृत खत्रीले बताए ।

उनका अनुसार बरामद सामानको अनुसन्धान गर्नुको साथै थप छानबिनका लागि सञ्चालक लक्ष्मीप्रसाद भुसाललाई (आज) बुधबार कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।’

उक्त पसलमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले समेत छापा हानेको थियो । छापा हान्दा ३१ बोरा म्याद सकिएको म्याङ्गो चक्लेट जफत गरेको प्रशासकीय अधिकृत पदमलाल लामिछानेले बताए । राजस्व कार्यालयले दोस्रो चरणको निषेधाज्ञामा समेत सप्लायर्सले अवैध सुर्ती बिक्री गरेको भेटिएपछि मुद्दा नै चलाइएको जनाएको छ ।

आन्तरिक राजस्व कार्यालयका अनुसार नेपाल प्रहरीको सहयोगमा गत आर्थिक वर्षमा अवैध सुर्ती जफतबाट झण्डै रु ६० लाख राजस्व सङ्कलन गरिएको थियो ।