सुर्खेत। कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि भोलि सोमबार सकिँदैछ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि भोलि समाप्त हुँदैछ । उनीहरु तीनै जना नेकपा एकीकृत समाजवादी पार्टीका हुन् ।
मन्त्री थापा नेकपा एकीकृत समाजवादीको प्रदेश अध्यक्षको जिम्मेवारीमा पनि छन् । भोलि स्वतः पदमुक्त हुने उनीहरुको ठाउँमा कसलाई मन्त्री बनाउने भन्नेबारे औपचारिक धारणा बाहिर आइसकेको छैन । सोबारे छलफल गर्न आइतबार कर्णालीमा नेकपा एकीकृत समाजवादी पार्टीको बैठक बसेको छ ।
गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएपछि थापा, शाही र बुढालाई सरकारमा सामेल गरिएको थियो । उनीहरुलाई एमालेले कारवाही गरिसकेका कारण प्रदेशसभा सदस्य पद गुमाएका हुन् ।
ए.के. सञ्चार । १४ कार्तिक २०७८, आईतवार १८:४९