प्रदेश अस्पताल सुर्खेतमा २५ लाखभन्दा बढी हिनामिना, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा



सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत कर्मचारी र सरोकारवालाहरूले मिलेमतोमा अस्पतालको राजस्व रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।

आयोगले मिति असार ९ गते (आज) दायर गरेको आरोपपत्रअनुसार अस्पतालका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकर प्रसाद सुवेदी, कम्प्युटर अपरेटर (करार) पदमा कार्यरत तृप्ती शाही र कुमारी बैंकको एक्सटेन्सन काउन्टर सुर्खेतकी तत्कालीन प्रमुख गोमा सिजाली मगरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको हो।

अनुसन्धानका क्रममा करारमा कार्यरत तृप्ती शाही स्वास्थ्य बीमा शाखाको नाम दर्ता काउन्टरमा खटिए पनि अनधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी सेवा लिन आएका बिमितहरूको विवरण प्रविष्ट गर्नुका साथै उठेको राजस्व रकममध्ये ठूलो हिस्सा अस्पतालको खातामा दाखिला नगरी हिनामिना गरेको पाइएको हो।

मिति २०८० साउन १ देखि २०८१ साउन मसान्तसम्मको अवधिमा संकलन भएको कूल राजस्व रकम ३४ लाख ३ हजार ८ सय ५६ रुपैयाँ ५० पैसामध्ये ८ लाख ३६ हजार ३ सय ३० रुपैयाँ मात्र बैंकमा दाखिला गरिएको र बाँकी २५ लाख ६७ हजार ५ सय २६ रुपैयाँ ५० पैसा हिनामिना गरिएको अख्तियारले जनाएको छ।

शाहीले सम्पत्ति दुरुपयोग गर्ने बदनियतले यस्तो कार्य गर्दा लेखा अधिकृत सुवेदी र बैंक काउन्टर प्रमुख सिजाली मगरको समेत मिलेमतो रहेको देखिएको हो।

उनीहरू सबैले आ–आफ्नो जिम्मेवारीको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी पुर्‍याएको पुष्टि भएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएका छन्।

प्रकाशित मिति : २०८२ असार ९ गते सोमबार