कर्णाली सरकारले विपन्न नागरिकका लागि घर निर्माण गर्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले विपन्न नागरिकका लागि घर निर्माण गर्ने भएको छ। प्रदेश सरकारले बादी, गाइने, राउटे, बोटे, राजी, दलित, विपन्न, मुसलमान तथा लोपोन्मुख र अति सीमान्तकृत जात वा समुदायका विपन्न वर्ग लक्षित गर्दै घर निर्माण गरिदिने भएको हो ।

गत फागुन ११ गते बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले विपन्न आवास कार्यक्रमका लागि निर्णय गरेसँगै कर्णाली प्रदेश विपन्नको घर निर्माण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७८’ प्रदेश सचिवबाट प्रमाणीकरण भएर कार्यान्वयनको चरणमा छ।

विपन्न समुदायका लागि आवास निर्माण कार्यविधि कार्यान्वयनको चरणमा छ। यसका लागि स्थानीय तहलगायत जिल्ला समन्वय समितिसँग समन्वयको तयारी भइरहेको छ भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री पदमबहादुर रोकायाले बताए ।

निर्वाचन क्षेत्र कार्यान्वयन समिति निर्माणपछि आगामी जेठ महिनासम्म विपन्न समुदायका लागि घर निर्माण कार्य शुरु हुने मन्त्री रोकायाले जानकारी दिए। प्रदेशमा विपन्न नागरिकका लागि घर निर्माणका लागि पाँच करोड रुपैयाँ बजेट छुट्याइएको छ। यो बजेटले कम्तीमा १०० घर बनाउने सरकारको लक्ष्य छ।