रुकुम पश्चिम । यहि बैशाख ३० गते आसन्न स्थानीय तहको निर्वाचन हुँदै छ । निर्वाचन नजिकिदै गर्दा रुकुम पश्चिमका तीन स्थानीय तहमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टीको निर्णय विपरीत नेकपा एमालेसँग गठबन्धन गरेका छन् । मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन बनेको हो ।
उम्मेदवारी फिर्ता लिने दिन शुक्रबार नै कांग्रेस र एमालेको गठबन्धन पक्का भएको हो । यसअघि उम्मेदवारी दिने क्रममा पनि त्यसरी समायोजन गरी उम्मेदवारी दिइएको थियो । गठबन्धन भएका सबै पालिकामा नेपाली कांग्रेसले प्रमुख र अध्यक्ष तथा एमालेले उपप्रमुख उपाध्यक्षमा उम्मेदवारी कायम राखेका छन् ।
कांग्रेसको तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएकी कमला थापाले उम्मेदवारी फिर्ता लिएकी छन् । तर एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएकी कृष्णकुमारी मल्लले भने उम्मेदवारी फिर्ता लिन मानिन् । उनले आफै निर्वाचन लड्ने भन्दै पार्टीले उम्मेदवारी फिर्ता लिन भने पनि पनि मानेनन् । सानीभेरी गाउँपालिकामा कांग्रेसबाट गोरखप्रसाद चन्दले अध्यक्ष र एमालेबाट प्रकाश खड्काले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
मुसीकोट नगरपालिकाका प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसी र उपप्रमुखमा एमालेका थलबहादुर ओलीको उम्मेदवारी कायम गरिएको छ । एमालेबाट प्रमुखमा उम्मेदवारी दिएकी अन्जना चन्द गौतम र कांग्रेसबाट उपप्रमुखमा उम्मेदवारी दिएकी निर्मला गिरीले उम्मेदवारी फिर्ता लिएका छन् ।
चौरजहारी नगपालिकाको प्रमुखमा कांग्रेसका प्रेमबहादुर ओली, उपप्रमुखमा एमालेका टंकप्रसाद ओली कायम भएका छन् । चौरजहारीको प्रमुखमा एमालेबाट डण्डी कार्की र उपप्रमुखमा कांग्रेसकी दिपा डाँगी खड्काले उम्मेदवारी फिर्ता लिए । आठबीसकोटको कांग्रेसका प्रमुखमा धिरेन्द्रकुमार बटालाको उम्मेदवारी कायमै छ भने उपप्रमुखमा एमालेका दिनेश चन्दको उम्मेदवारी कायमै छ ।
ए.के. सञ्चार । १७ बैशाख २०७९, शनिबार १२:१५