सुर्खेत । नेकपा एमाले सुर्खेतको वैचारिक पत्रिका ‘मार्गदर्शन’ प्रकाशन भएको छ । प्रचार तथा प्रकाशन विभागद्वारा प्रकाशित उक्त अर्धवार्षिक म्यागजिनको शनिवार विमोचन गरिएको छ ।
एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल र जिल्ला उपाध्यक्ष कुलमणि देवकोटालगायतका नेताहरुले मुखपत्रको विमोचन गरेका हुन् ।
मार्गदर्शनको विमोचन गर्दै नेता कँडेलले यसले पार्टीको जनमत निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले जिल्ला नेतृत्व र प्रकाशन टिमले गरेको सराहनीय कार्यले पार्टी र कार्यकर्ताबिच विचार तथा सूचना आदानप्रदान गर्न पुलको काम गर्ने बताए । मुखपत्रमा स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज कँडेलको समसामयिक राजनीतिक विषयमा अन्तर्वार्ता, पार्टीका गतिविधि, विचार तथा लेखहरु प्रकाशन गरिएका छन् ।
यस्तै, वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेबाट सुर्खेतका नौ स्थानीय तहका ९९ वटै वडाका उम्मेदवारहरुको विवरण समावेश गरिएको छ । म्यागजिनको प्रधान सम्पादक प्रचार विभागका प्रमुख गंगाराम तिमिल्सेना र सम्पादक विभागका सचिव ईश्वर अधिकारी रहेका छन् ।
ए.के. सञ्चार । २४ बैशाख २०७९, शनिबार १५:२३