दैलेख–सुर्खेत सडक खण्डलाई स्तरोन्नति गर्न वाणिज्य संघद्वारा माग

सुर्खेत । दैलेख –सुर्खेत सडक खण्डलाई स्तरोन्नति गर्न दैलेख उद्योग वाणिज्य संघले माग गरेको छ। सडक स्तरोन्नतिको माग गर्दै संघका अध्यक्ष कुलबहादुर विक र महासचिव प्रकाश पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्रसमेत बुझाएका छन्। संघले दैलेख सुर्खेत सडक खण्डलाई दुई लेनको बनाउनका लागि बजेट विनियोजन गर्न माग गरेको हो। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट सबैभन्दा नजिकको जिल्ला दैलेख हो।

दैलेखबाट प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतसम्मको सडक स्तरोन्नति भने अझै हुन सकेको छैन। प्रदेश राजधानीबाट कर्णालीका अन्य जिल्ला र रारा जाने पर्यटकहरूसमेत यही सडकखण्ड प्रयोग गर्छन्। सडकको अवस्था भने दयनीय छ।

संघले प्रधानमन्त्री समक्ष दैलेख सुर्खेत सडक खण्ड दुई लेनको बनाउनुपर्ने तथा सुर्खेत दैलेख महाबु कालिकोट हुँदै नाक्चे नाङ्ला जोड्ने सडक निर्माण गर्नुपर्ने माग गरेको छ। संघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पुष्पलाल मध्यपहाडी राजमार्गको कालोपत्रेको काम यथाशिघ्र द्रुत गतिमा सञ्चालन गर्नुपर्ने, दैलेखमा व्यवस्थित बसपार्क नभएकोले सुविधा सम्पन्न सिटी बसपार्क निर्माण गर्न माग गरेको छ।