बुटवल। व्यवस्थित सहरीकरण, सुविधा सम्पन्न आधुनिक सहरी विकास र दिगो पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन गर्दै उनले सुविधा सम्पन्न सहरी विकास र पूर्वाधारले आर्थिक विकासमा समेत सघाउने बताए ।
प्रधानमन्त्री देउवाले सभाहल संचालनले बुटवलको आर्थिक विकास र सामाजिक गतिविधि बढाउन धेरै सहयोग पुग्ने बताए । सभाहलको बढीभन्दा बढी उपयोग गर्न सके राष्ट्रिय अन्तर्राष्ट्रिय सभा सम्मेलन बढ्ने र त्यसले यहाँको दिगो विकास हुने उनले बताए।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीमा सुरु योजनाहरू एकपछि अर्को गर्दै पूरा हुँदै र व्यवस्थित हुँदै गएको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको संचालनपछि सभाहल बनेकाले यहाँ बढीभन्दा बढी राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रम हुने र यस क्षेत्रको आर्थिक क्रियाकलाप बढाउने बताए ।
ए.के. सञ्चार । ११ भाद्र २०७९, शनिबार १४:३६