कालोसूचीमा परे भेरी नदीको पुल अलपत्र पार्ने दुई निर्माण कम्पनी

सुर्खेत। सडक डिभिजन सुर्खेतले भेरी नदीको पुल अलपत्र पार्ने दुई निर्माण कम्पनी कालोसूचीमा राखेको छ । खरिद सम्झौता गरेको १० वर्षसम्मपुल नबनाएपछि ठेक्का सम्झौता अन्त्य गरेको हो । सडक डिभिजन कार्यालयले सुर्खेतको रानीघाटस्थित भेरी नदीमा पक्की पुल निर्माणको जिम्मा लिएको पप्पु÷मल्ल जेभीतथा कर्णाली राजमार्गमा पर्ने दैलेखको जाक्सी खोला पुल निर्माणको जिम्मा लिएको सिरुवा÷कबिर÷सुनकोशी जेभी काठमाडौंसंग ठेक्का सम्झौता तोडेको छ ।

सम्झौता अनुसार म्याद थप भैसक्दा समेत निर्माण कार्य सम्पन्न गर्न तर्फ चासो नदिने, पटक–पटक ताकेता गर्दा अटेरी गरी निर्माण कार्यलाई अलपत्र पारेकाले ठेक्का सम्झौता अन्त्य गरिएको सडक डिभिजन सुर्खेतले जनाएको छ ।सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३, ५९, को उप दफा सात र ठेक्का सम्झौतामा भएको व्यवस्था बमोजिम ठेक्का तोडेर कालो सूचीमा राख्न सिफारिस गरिएको छ ।