राष्ट्रपतिको कदमले देशमा अस्थिरताको खतरा बढ्यो– नैनसिंह महर

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रपतिको कदमले देशमा अस्थिरताको खतरा बढेको बताएका छन् ।नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नेता महरले देश संघ र प्रदेशको निर्वाचनमा होमिएको बेला राष्ट्रपति भण्डारीबाट असंवैधानिक कदम चाल्ने काम भएको आरोप लगाए ।

१४ महीना अगाडी तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिगामी शक्तिहरूको उक्साहटमा असंवैधानिक तवरबाट गरेको संसद विघटन पश्चात २०६२–६३ सालको आन्दोलनबाट प्राप्त उपलब्धिलाई खतम गरेर देशलाई अन्धकारतर्फ धकेल्ने प्रयास पूरा नभएकाहरूको मनोकांक्षा पूरा गर्ने हेतुले रास्ट्रपतिबाट अहिलेको गैरसंवैधानिक कदम चालिए कुरा बुझ्न गाह्रो छैन, उनले भने ।

प्रतिगामी शक्तिहरूको उक्साहतमा चालिएको कदमले देश फेरी प्रतिगमन तीर जान सक्ने खतरा बढेकाले निर्वाचनबाट आउने संसदले संविधान उल्लंघन गर्ने राष्ट्रपतिलाई महाअभियोग लगाउने संकल्प राजनीतिक दलको गठबन्धनको बैठकबाट पास गर्न र शान्तिपूर्ण तरिकाबाट कर्तब्यनिष्ठ भएर मंसिर ४ गते हुने निर्वाचनलाई सम्पन्न गर्ने अर्जुनदृष्टी बनाउन उनले आग्रह गरेका छन् ।