कर्णाली सरकारले इजरायल युद्धमा ज्यान गुमाएकाको परिवारलाई ३ लाख दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले इजरायल युद्धमा मृत्यु भएका कर्णालीका तीन जनाको परिवारलाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बुधबार बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री तथा सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए ।

असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिय भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहको आक्रमणमा कर्णाली प्रदेशका ३ जना नागरिकको मृत्यु भएको थियो । त्यस्तै, बैठकले नेपाल बार एशोसियनको नियमित वार्षिक साधारण सभाको लागि १५ लाख अनुदान प्रदान गर्ने भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८० भदौ र असोजमा परेको अविरल वर्षा तथा हावाहुरी लगायत प्राकृतिक प्रकोपबाट कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा भएको बालीनाली तथा पशुपन्छीहरु क्षति भएकोमा कृषकहरुलाई छ करोड राहत प्रदान गर्ने पनि बैठकले निर्णय गरेको छ ।