वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ३ अर्ब ५९ कराेडकाे बजेट

सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा रहेको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष ०८१/०८२ का लागि ३ अर्ब ५९ करोड बढीको बजेट ल्याएको छ ।

१५ औं नगरसभामा नगर उपप्रमुख निलकण्ठ खनालले आर्थिक वर्ष ०८१/०८२ का लागि ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार रुपैयाँको बजेट पेस गरेका हुन् ।

प्रस्तुत बजेटमा चालु खर्च १ अर्ब ७५ कराेड ७३ लाख ६८ हजार ९९९ रुपैयाँ रहेको छ भने पूँजीगत तर्फ १ अर्ब ८३ कराेड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नगरपालिकाले नगरसभामा राजश्व तथा वित्त व्यवस्थापन तर्फ आर्थिक वर्ष ०८१/०८२ मा कर प्रणालीमा सुधार गरी ३६ करोड ८३ लाख ४ हजार (घर जग्गा रजिष्टेशन तथा दहत्तर वहत्तर वाहेक) संकलन गरिने लक्ष्य लिइएको नगर उपप्रमुख खनालले बताए ।

नेपालको संविधान अन्तर्गत स्थानीय तहको अधिकार सूचीभित्र पर्ने सम्पत्ति कर, भूमीकर, घरजग्गा वहालकर, व्यापार व्यवसाय कर, जडिबुटी, कवाडी तथा जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरन्जन कर, वहाल विटौरी शुल्क, पार्किङ शुल्क, विभिन्न सेवा शुल्क दस्तुर क्षेत्रलाई फराकिलो पार्दै कर एवम् शुल्क तिरेको अनुभुति हुने गरी कर संकलन कार्यलाई निरन्तरता दिईने उनले जानकारी दिए ।

साथै, नगरपालिकाले राजस्व वृद्धिका लागि कर्मचारी, टोल विकास संस्था र नीजि क्षेत्र परिचालनका लागि लागि ५१ लाख बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले पूर्वाधार विकास तर्फ कर्णाली राजधानी केन्द्रित शहरी सौन्दर्यताका पूर्वाधारहरुलाई विशेष जोड दिदै घण्टाघर पार्क लगायत सुर्खेत उपत्यका नगर विकास समिति तथा नगरपालिकावाट खाली गराइएका सार्वजनिक जग्गामा पार्क तथा पार्किड स्थल निर्माणका लागि ७ करोड ५० लाख र मंगलगढीमा आकाशे पुलका लागि १ करोडसहित नगरको विविध भौतिक पूर्वाधार विकासका लागि २५ करोड ८५ लाख ५० हजार वजेट विनियोजन गरेकाे छ ।

यस्तै, नगरपालिकालाई शैक्षिक हबको गन्तव्यका रुपमा विकास गर्दै गुणस्तरीय विद्यालय शिक्षामा सबै बालबालिकाहरुको समतामुलक पहुँच सुनिश्चित गर्न सशर्त बाहेक ६ करोड ४७ लाख ९२ हजार विनियोजन गरेको छ ।

नगरपालिकाका युवाहरुको क्षमता विकास गर्न तथा युवाहरुलाई नगर समृद्धिको अभियानमा परिचालन गर्नका लागि नगर उपप्रमुख युवा विकास कार्यक्रम सञ्चालन गर्नका लागि ४० लाख विनियोजन गरेको छ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्ने कार्यक्रमसहित युवा तथा खेलकुद क्षेत्रमा कुल १ करोड ४२ लाख ७५ हजार विनियोजन गरेको छ ।

यस्तै, आधारभूत स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि र सुलभता ल्याउनुका साथै विभिन्न महामारीसंग सामना गर्न सक्ने स्वास्थ्य संस्था वनाउन सशर्त बाहेक २ करोड ५५ लाख ५८ हजार र महिला बालबालिका नगर अस्पताल सञ्चालन गर्न रु १ करोड १० लाख बजेट विनियोजन गरेको छ ।

कर्णाली प्रदेशका सबै स्थानीय तहमा निर्वाचित महिला पदाधिकारीहरुको प्रदेशस्तरीय सम्मेलन आयोजना गर्नका लागि रु. १० लाख विनियोजन गरेको छ।

चालु आर्थिक वर्षभित्र नगरभित्रका भूमीहिनहरुलाई पूर्जा वितरणको कार्य गर्न सो को व्यवस्थापनका लागि रु. १ करोड ११ लाख विनियोजन गरेको छ ।

यस्तै, सहकारी, घरेलु, उद्योग, पर्यटन प्रवर्द्धन र युवा उद्यमजस्ता कार्यक्रमका लागि नगर स्तरीय बजेटवाट रु. ६१ लाख ५० हजार व्यवस्था गर्दै प्रत्येक वडामा यस क्षेत्रमा लगानी गर्न यथोचित बजेटको विनियोजन गरेको छ ।

श्रोतमा नै फोहरको वर्गीकरण गर्दै वातावरणमैत्री ढंगले फोहर मैला व्यवस्थापनको आधार तयार गर्न रु. ८८ लाख ८७ हजार विनियोजन गरेको छ । नगरको हरियाली प्रवर्धन कार्यलाई शहरी सौन्दर्य र आय आर्जनसंग जोडिने गरी योजनाबद्ध रुपमा अगाडी वढाउन रु. ६२ लाख विनियोजन गरेको छ।

आगलागी नियन्त्रणका लागि थप संस्थागत क्षमता विकास गर्नका लागि दमकल खरिद गर्न रु. ८० लाख सहित विपदजन्य जोखिम न्यूनिकरणका लागि पूर्व तयारीमा रहन थप रु. ३३ लाख ५० हजार विनियोजन गरेको छ ।

साथै, समय सापेक्ष संगठन तथा संस्थागत सुधार गर्दै उपमहानगर उन्मुख शहरी सुविधा र सुशासन कायम गर्न रु. ९८ लाख ९५ हजार विनियोजन गरेको नगर उपप्रमुख खनालले जानकारी दिएका छन् ।

नगरस्तरीय क्षेत्रगत कार्यक्रमहरुमा छुटाइएकाे बजेट छ । जसमा
कृषि विकास कार्यक्रम तर्फ रु.५६ लाख ५० हजार, पशुपन्छी विकास कार्यक्रम तर्फ रु. ४५ लाख ६० हजार, उद्यम सहकारी तथा उपभोक्ता हित तर्फ रु. ६१ लाख ५० हजार, जनस्वास्थ्य प्रवर्धन तथा नगर अस्पताल तर्फ रु. ४ करोड ५ लाख ५८ हजार, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग लगायत अन्य लक्षित वर्गतर्फ रु. १ करोड १६ लाख ३० हजार, शिक्षा, युवा तथा खेलकुदतर्फ ७ करोड ९० लाख ६७ हजार, वन, वातावरण, फोहरमैला तथा विपद व्यवस्थापन तर्फ २ करोड ६४ लाख २० हजार, सार्वजनिक सेवा तथा सुशासन तर्फ २ करोड १७ लाख ४५ हजार, नगर स्तरीय विविध पूर्वाधार विकास तर्फ २५ करोड ८५ लाख ५० हजार रहेकाे छ ।