कर्णालीका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक, कुन मन्त्रीको कति ?

सुर्खेत । कर्णाली प्रदेशका मन्त्री र राज्यमन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्रीसहित ८ मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । आचारसंहिता अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् सदस्यहरूले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्छ । चैत २७ गते कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएका थिए । आचारसंहिता अनुसार विवरण सार्वजनिक गर्नुपर्ने समयावधिले असारमा नै नेटो काटेको हो ।

कुन मन्त्रीको कति सम्पत्ति र ?

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको वेबसाइटमा सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलका सुर्खेत र काठमाडौँमा घर घडेरीदेखि विभिन्न ११ वटा बैंक तथा सहकारीमा लाखौँ रकम मौज्दात छ । मुख्यमन्त्री कँडेलको अचल सम्पत्तिमा दुई वटा घर छन् । कँडेलको नाममा वीरेन्द्रनगरमा ०(३(१२(३र४ वर्गमिटर क्षेत्रफलमा फैलिएको पक्की घर छ । उक्त घर पुर्ख्यौली हो ।

यस्तै, उनकी श्रीमती गीता अधिकारीको नाममा काठमाडौँमा घर छ । कागेश्वरी मनोहरा नगरपालिका-६, मा १९०.७८ वर्गमिटर क्षेत्रफलमा घर रहेको कँडेलले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उक्त घर विगतको बैंक मौज्दात, आफ्नो, श्रीमती र छोरीहरूको पारिश्रमिक, घरभाडा, ऋण सापट गरी जोडेको कँडेलले जनाएका छन् । कँडेलको विभिन्न पाँच ठाउँमा लाखौँ मूल्य पर्ने जग्गा र घडेरी उल्लेख गरेका छन् ।

कँडेलको नाममा वीरेन्द्रनगर नगरपालिका-९ मा ०।८।१४ वर्गमिटर र उनकी श्रीमतीको नाममा वीरेन्द्रनगर १० मा ०.१.८.२, वडा नम्बर ४ मा ०.०.१८ र ०.०.१३.१९ वर्गमिटर क्षेत्रफलमा फैलिएको जमिन छ ।

यस्तै श्रीमती अधिकारीकै नाममा काठमाडौँको गोठाटार मुलपानी-४, मा ८ आनामा फैलिएको जमिन रहेको उल्लेख छ । काठमाडौँको बाहेक अन्य जमिन पुर्ख्यौली रहेको कँडेलले उल्लेख गरेका छन् ।चल सम्पत्तिमा कँडेलसँग १० तोला सुन रहेको र उक्त सुन केही पुर्ख्यौली र केही खरिद गरेको जनाइएको छ । बैंक, वित्तीय संस्था तथा सहकारीमा कँडेलको राम्रै रकम जम्मा गरेका छन् ।

कँडेल र उनकी श्रीमतीका नाममा विभिन्न ११ वटा बैंक तथा सहकारीमा गरी ३३ लाख १२ हजार ४८५ रुपैयाँ मौज्दात छ । जस अन्तर्गत कँडेलको एभरेष्ट बैंक काठमाडौँमा १ लाख २४ हजार २३७.६४ रुपैयाँ रकम मौज्दात छ भने एनआइसी एसिया बैंकमा ३ लाख २४ हजार २५६ रुपैयाँ बचत र १२ लाख मुद्दती खातामा छ ।

यस्तै कँडेलको ललितपुरको क्यारिना सहकारीमा १ लाख १५ हजार १५३ रुपैयाँ बचत छ भने पिपलबोट सहकारीमा ७५ हजार ३२२ रुपैयाँ बचत छ । राष्ट्रिय वाणिज्य बैंकमा २५ हजार, जनहितकारी सहकारी संस्थामा ८० हजार ९० रुपैयाँ बचत रहेको उनले उल्लेख गरेका छन् ।

यस्तै श्रीमती गीता अधिकारीको नाममा ग्लोबल आईएमई बैंकमा १ लाख ९० हजार ३०५, जनहितकारी सहकारीमा १ लाख ६३ हजार ७८३, क्यारिना सहकारी ललितपुरमा १ लाख ३० हजार ६३७, लक्ष्मी विकास बैंकमा ८ लाख ७ हजार र पिपलबोट सहकारी संस्थामा ७८ हजार ७०६ रुपैयाँ मौज्दात रहेको उल्लेख छ ।

उक्त रकम पारिश्रमिक, घरभाडा, बोनस, सापटी फिर्ता लगायतबाट जोडेको मुख्यमन्त्री कँडेलले उल्लेख गरेका छन् । कँडेलले राष्ट्रिय वाणिज्य बैंकबाट ४५ लाख ऋण लिएको विवरणमा उल्लेख गरेका छन् ।कँडेलसँग जीप भए पनि बिक्री गरिसकेको उल्लेख गरेका छन् । सार्वजनिक सम्पत्ति विवरण अनुसार उनीसँग २ वटा मोबाइल, १ ट्याबलेट, २ घडी र एक ल्यापटपसमेत छ ।

यस्तै, सामाजिक विकास मन्त्री वीरबहादुर शाहीको चार वटा घर सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । डोल्पाको जगदुल्ला गाउँपालिका(५, माझगाउँमा शाहीको गाउँमा १०६० वर्गमिटर क्षेत्रफल जमिनमा घर छ । उक्त घर पुर्ख्यौली रहेको स्रोतमा उल्लेख छ । बाँकी तीन वटा घर सुर्खेत र बाँकेको नेपालगंजमा छन् ।

बाँकेमा दुईमध्ये एउटा ३७६.५५ वर्गमिटर क्षेत्रफलमा र अर्को २१ धुरमा बनेका छन् । यी घर १० लाख रुपैयाँमा जोडेको शाहीले उल्लेख गरेका छन् । वीरेन्द्रनगरमा उनको २५ लाख पर्ने ११ धुर क्षेत्रफलमा फैलिएको घर उल्लेख छ । जसको स्रोत ठेक्कापट्टाबाट जोडेको शाहीले उल्लेख गरेका छन् ।

मन्त्री शाहीको नाममा डोल्पा, सुर्खेत, बाँके, रुकुम पश्चिममा गरी ७ ठाउँमा करोडौँ मूल्य बराबरको जग्गाजमिन छ । डोल्पा जगदुल्लाका दुई ठाउँमा ११ धुर, सुर्खेतमा ९ धुर, बाँकेमा २०० धुर, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३, का दुई ठाउँमा गरी ४०० धुर र डोल्पामै अर्को ठाउँमा ४ बिघा जमिन सम्पत्ति विवरणमा उल्लेख छ ।

४ बिघा पुर्ख्यौली सम्पत्ति र बाँकी सबै जमिन ठेकापट्टाबाटै जोडेको शाहीले उल्लेख गरेका छन् । सुर्खेत र बाँकेको १ करोड ५० लाख बराबर मूल्यमा खरिद गरेको र रुकुम पश्चिमको ६५ लाख रकममा खरिद गरेको उनले उल्लेख गरेका छन् ।चल सम्पत्ति अनुसार शाहीसँग ३२ तोला सुन छ । ५५१ तोला चाँदी, मुगा १० तोला रहेको उल्लेख गरेका छन् । मन्त्री शाही र उनकी श्रीमती शीलकुमारी शाहीको नाममा ५ लाख रकम मौज्दात छ ।

शाहीसँग २ वटा डोजर, १ ट्याक्टर, २ मोटरसाइकल र एउटा कार छ । यी सबै ठेक्कापट्टाबाटै खरिद गरिएको शाहीले उल्लेख गरेका छन् । डोजरको मूल्य २ करोड ३० लाख, ट्याक्टरको मूल्य ३० लाख उल्लेख गरेका छन् । १ करोड ५० लाख मूल्यको टोयटा हाइलक गाडी उनीसँग छ । यो सबै पनि उनले ठेक्कापट्टाबाटै जोडेको बताएका छन् ।यस्तै उनीसँग एउटा स्याउ फार्म, ४० घोडा, ६० खच्चर, १०० बाख्रा छन् भने एउटा ग्रिल उद्योग पनि छ । उक्त उद्योग एक करोडमा खरिद गरिएको उल्लेख छ ।

यस्तै, कृषि तथा भूमि व्यवस्था मन्त्री विनोदकुमार शाहले आफूसँग २५ तोला सुनका गहना, ४० तोला सुन, १५ क्यारेट हिराको हार, २ थान रुवी सेट र १५ सय तोला चाँदीका भाडा उल्लेख गरेका छन् । जसको सुनका गहना पुर्ख्यौली, सुन छोरा र आफ्नो पारिश्रमिकबाट, १५ लाख मूल्यको हिराको हार र १० लाख मूल्यको रुवी सेट छोरीले अष्ट्रेलियाबाट उपहार दिएको र ९ लाख मूल्यको चाँदीका भाडा पुर्ख्यौली तथा पारिश्रमिक रहेको प्राप्तिको स्रोतमा उल्लेख छ ।

अचल सम्पत्तिमा मन्त्री शाहकी श्रीमती लक्ष्मीदेवी शाहको नाममा बुढानीलकण्ठ नगरपालिका–५ मा ७५ लाख रुपैयाँ खरिदमा ४ आना २ तलाको घर उल्लेख गरेका छन् । जसको प्राप्ति स्रोत ऋणबाट सम्पत्ति विवरणमा उल्लेख छ ।

उनकी श्रीमती लक्ष्मीदेवीको नाममा भक्तपुर सूर्य विनायक नगरपालिका-६ मा ४८ लाख मूल्यमा जग्गा रहेको उल्लेख छ । जुन पुर्ख्यौली प्राप्ति स्रोत उल्लेख छ । यस्तै, दैलेख आठवीस नगरपालिका–४ मा १० लाख मूल्यको जग्गा सम्पत्ति विवरणमा उल्लेख छ । जसको स्रोत पारिश्रमिक उल्लेख ।

साथै दैलेखको ठाँटिकाँध गाउँपालिका–१ मा ५० रोपनी जग्गा उल्लेख गरेका छन् । जसको प्राप्ति स्रोत पुर्ख्यौली उल्लेख छ । राष्ट्रिय वाणिज्य बैंक ५० हजार र नेपाल एसबीआई बैंकमा १० हजार उल्लेख गरेका छन् । जसको स्रोत पारिश्रमिकबाट उल्लेख छ । साथै, अन्य सम्पत्तिमा मोबाइल र ल्यापटप एक÷एक उल्लेख गरेका छन् । मोबाइलको मूल्य ३० हजार रुपैयाँ उल्लेख गरेका छन् । सम्पत्ति विवरणमा जसको प्राप्तिको स्रोत पारिश्रमिक उल्लेख छ ।

यस्तै, ऊर्जा जलस्रोत तथा ऊर्जा विकास मन्त्री रनसिंह परियारको नाममा हुम्लाको अदानचुली—१ मा ०००८० वर्ग मिटरमा पुर्ख्यौली घर रहेको विवरणमा उल्लेख छ । सोही ठाउँमा ६० रोपनी पुर्ख्यौली पाखो बारी रहेको उल्लेख गरेका छन् । उनको चल सम्पत्तिमा नगद ७० हजार तलब भत्ता, ३ तोला सुन पुर्ख्यौली दाइजो र पुर्ख्यौली २० तोला चाँदी उल्लेख छ ।

साथै, उनको नाममा एन एम वि बैंकमा २० हजार र राष्ट्रिय वाणिज्य बैंकमा ५० हजार रुपैयाँ उल्लेख छ । जुन प्राप्तिको स्रोत तलब भत्ता उल्लेख गरेका छन् । कृषि तथा पशुधनमा गाई ४, गोरु ७ र बाख्रा ३० वटा रहेको विवरणमा उल्लेख छ । जसको स्रोत पुर्ख्यौली उल्लेख छ ।

उनको अन्य सम्पत्तिमा कर्णाली ट्रेड्स खुद्रा पसल उल्लेख छ । जुन खरिद गरिएको र जसको मूल्य ३ लाख ५० हजार रुपैयाँ उल्लेख गरिएको छ ।

यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग बहादुर रावतको अचल सम्पत्तिमा तिलागुफा नगरपालिका–७ कालिकोटमा घर भएको उल्लेख गरेका छन् । उनले तिलागुफा नगरपालिका वडा नम्बर ३, ५,५ ३,३,३ र ३ मा पैतृक जग्गा उल्लेख गरेका छन् । यस्तै, राष्ट्रिय वाणिज्य बैंकमा १९ लाख रुपैयाँ र एभरेष्ट बैंक काठमाडौंमा ५० हजार रुपैयाँ उल्लेख छ । जसको स्रोत पैतृक उल्लेख गरेका छन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाको डोल्पा काइके गाउँपालिका –२ मा पुर्ख्यौली घर तथा जमिन रहेको उल्लेख गरेका छन् । ००,९४५, ००५५०, ००।२४५, ०,०६२०, ०,००४५, ०३२० र ०,०८० वर्गमिटरको घर तथा घरको चर्चेको जग्गा रहेको उल्लेख गरेका छन् । उनकी श्रीमती कुमारी बुढाको नाममा डोल्पाकै ठुलोभेरी नगरपालिका–३, को दुई वटा ठाउँमा जमिन छ । एक ठाउँमा ०००।४२५ वर्ग मिटर क्षेत्रफल र अर्को ०००।२० वर्ग मिटर क्षेत्रफलमा जमिन रहेको उल्लेख छ । उक्त सम्पत्ति व्यापारबाट जोडेको उल्लेख भए पनि कस्तो व्यापार भन्ने उल्लेख गरेका छैनन् ।

बुढासँग २० तोला सुन, ६० तोला चाँदी रहेको उल्लेख गरेका छन् । उक्त सम्पत्ति पनि व्यापारबाट नै जोडेको उल्लेख छ । यस्तै श्रीमतीकै नाममा रहेको नेपाल बैँकमा २० लाख रकम मौज्दात रहेको उल्लेख गरेका छन् । उक्त रकम पनि व्यापारबाट नै जोडेको उल्लेख छ । तर मन्त्री जस्तो व्यक्ति भएको मान्छेले आफ्नो नाममा भने बैँक खाता नै नभएको उल्लेख गरेका छन् ।

बुढासँग दुईवटा बुलेट बाइक रहेका छन् । एउटा ७ लाख ५० हजार र अर्को ५ लाख ५० हजार मूल्य परेका ती बाइकहरू पनि व्यापारबाट नै जोडेको उल्लेख छ । यस्तै उनीसँग चार वटा घोडा, ५ गाई, १० भेडा बाख्रा रहेको छन् । ती सबै पुर्ख्यौली सम्पत्ति रहेको बुढाले उल्लेख गरेका छन् । अन्य सम्पत्तिमा १० केजी काँच र २०० केजी तामा रहेको पनि बुढाको सम्पत्ति विवरणमा उल्लेख छ ।

आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी आफ्नो बस्ने घर नभएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ गाउँमा २७५२ र ८० वर्ग मिटरको दुई ठाउँमा जमिन छ भने कपिलवस्तुको बाँणगंगाको तीन ठाउँमा गरी ३ कट्ठा ९ धुर जग्गा भएको उल्लेख गरेका छन् । बाँफिकोटको पुर्ख्यौली हो भने कपिलवस्तुको स्रोत खुलाएका छैनन् ।

मन्त्री केसीको र उनकी श्रीमतिको नाममा ग्लोबल आईएमई बैकंमा ६ लाख एक हजार ३३५ रुपैयाँ मौज्दात छ । प्राप्तिको स्रोतमाकेसीको पारिश्रमिक र श्रीमतीको द्वन्द्व पीडितलाई सरकारले दिने सुविधाबाट जम्मा भएको उल्लेख छ ।

भौतिक पूर्वाधार राज्यमन्त्री गमता विकको नाममा अचल सम्पत्ति विवरणमा केही पनि नभएको उल्लेख गरेकी छन् । उनले चल सम्पत्तिमा सुन ४ तोला जसको मूल्य ८० हजार रुपैयाँ उल्लेख गरेकी छन् । यस्तै, चाँदी १० तोला जसको मूल्य १२ हजार रुपैयाँ उल्लेख छ । जसको स्रोत कृषि र पैतृक उल्लेख छ । एन आई याम वि बैंकमा ५ लाख रुपैयाँ उल्लेख छ । जसको स्रोत तलब भत्ता विवरणमा उल्लेख गरेकी छन् । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थामा २०८० मा ३ लाख ऋण लिएको उल्लेख छ । जसमध्ये १ लाख रुपैयाँ तिरेको उल्लेख छ । उनले अन्य सम्पत्ति विवरणमा २० हजारको मोबाइल, ५ हजारको घडी र ३० हजारको टिभी उल्लेख छ । जसको प्राप्तिको स्रोत तलब रहेको छ ।