उपाध्यक्ष अल्किना बमलाई ‘शी लिड्स आइकन अवार्ड’

सुर्खेत । कर्णाली प्रदेशको कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाकी उपाध्यक्ष अल्किना बम (वविता) ले ‘शी लिड्स आइकन अवार्ड’मा देशभरबाट चौथो र समग्र अवार्ड समूहमा दोस्रो स्थान हासिल गर्दै आफ्नो नेतृत्व क्षमताको उत्कृष्ट परिचय दिएकी छिन्।

शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट बमलाई सम्मान पत्र प्रदान गरिएको हो। यो अवार्ड कर्णाली प्रदेशका महिलाहरूको नेतृत्व विकास र क्षमता उजागर गर्ने ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।

देशभरका ७५३ स्थानीय तहका महिला जनप्रतिनिधिबाट सुरु भएको छनोट प्रक्रियामा बमले आफ्नो काम, दृष्टिकोण, र प्रतिबद्धताको आधारमा यो सफलता हासिल गरेकी हुन्।

कर्णाली प्रदेशजस्तो पछि परेको क्षेत्रबाट प्रतिनिधित्व गर्दै उनले महिला सशक्तीकरण र सामाजिक परिवर्तनको उदाहरण पेश गरेकी छिन्।

अल्किना बमको जीवन मात्र नेतृत्वको उदाहरण होइन, संघर्षको प्रतीक पनि हो। जनयुद्धका क्रममा लामो समय जेल जीवन बिताएकी उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा अत्यधिक मतका साथ उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्। महिलाहरूको हकहित र स्थानीय विकासका लागि अग्रसर बमले आफ्नो राजनीतिक यात्रा महिला सशक्तीकरण र समानताको लागि समर्पित गरेकी छिन्।

कल्प इम्पावर वेमेन नेपालद्वारा आयोजित ‘शी लिड्स आइकन अवार्ड’ देशभरका प्रेरणादायी महिला जनप्रतिनिधिहरूलाई सम्मान गर्ने विशेष कार्यक्रम हो। अवार्ड वितरणका क्रममा देशभरका २७ महिला जनप्रतिनिधिहरूलाई छनोट गरी सम्मान गरिएको थियो।

कार्यक्रमले महिला नेतृत्वको भूमिका उजागर गर्दै, उनीहरूको योगदानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्य राखेको छ। महिला सशक्तीकरण, उद्यमशीलता, र नीतिगत सुधारका क्षेत्रमा योगदान पुर्‍याएका महिला जनप्रतिनिधिहरूको जीवनयात्रालाई प्रेरणादायी वृत्तचित्रमार्फत प्रस्तुत गर्दै, राष्ट्रिय बहसको थालनी गर्ने योजना रहेको छ।

कर्णाली जस्तो क्षेत्रबाट महिला नेतृत्वलाई राष्ट्रिय स्तरमा परिचय गराउन अल्किना बमको योगदान ऐतिहासिक मानिन्छ। उनले आफ्नो कार्यकालमा महिलाका लागि मात्र होइन, समग्र गाउँपालिकाको समृद्धिका लागि महत्वपूर्ण योगदान पुर्‍याएकी छिन्।

बमले सम्मान ग्रहण गर्दै यो सफलताको श्रेय आफ्नो गाउँपालिका र उनलाई साथ दिने सबैलाई दिएकी छिन्। उनले आगामी दिनमा झनै उत्कृष्ट परिणाम ल्याउन निरन्तर मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले देखाएको साहस र नेतृत्व क्षमताले महिलाहरूको राजनीतिक सहभागितालाई बलियो बनाउँदै, देशभरका महिलालाई नेतृत्वदायी भूमिकामा आउन प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

अल्किना बमको यो सम्मान कर्णालीको महिलाहरूको सशक्तीकरण र देशव्यापी महिला अधिकार आन्दोलनको उज्यालो किरण हो।