आज निर्वाचनको उम्मेदवारको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

काठमाडौं । आज निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन् । सोमबार परेका उजुरी र मनोनयन पत्र जाँचबुझ गरी आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने उनको भनाई छ ।

उनले प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूको उजुरीको छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुङ्गो लगाउने गरी आवश्यक व्यवस्था मिलाइएको बताएका छन् । प्रवक्ता पौडेलले उम्मेदवारहरूमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरूको उम्मेदवारी स्वतः रद्द हुने जनाएका छन् ।

कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा भोलि बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ। भोलि नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तयारी आयोगले गरेको छ।