सुर्खेत। ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गुराँस गाउँपालिकाले राउटे बस्तीमा विशेष कार्यक्रम आयोजना गरेकाे थियो ।
कार्यक्रममा कपाल बाँध्ने डोरी वितरण गर्नुका साथै राउटे महिलाहरूलाई सरसफाइ, पोषण तथा बालबालिकाको शिक्षामा ध्यान दिनुपर्ने विषयमा सचेतना जगाइएको थियो।
गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा सामाजिक संस्था सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापाको उपस्थितिमा आयोजित कार्यक्रममा उपाध्यक्ष शिवा खड्काले महिलाहरूको समान ज्यालादर सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिइन्।
साथै, खडेरी बढ्दै गएकाले आगलागीको जोखिम रहेको भन्दै सचेत रहन आग्रह गरिन्।

गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीले राउटे समुदायमा महिला र पुरुष मिलेर काम गर्ने परम्परा रहेको बताउँदै, अन्य समाजभन्दा महिला हिंसा कम भएको धारणा व्यक्त गरे।
उनले महिलाहरूलाई परिवारको व्यवस्थापन र बालबालिकाको शिक्षामा विशेष ध्यान दिन सुझाव दिए।
उनले राउटे महिलाहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए।
नेपालका लोपोन्मुख जातिहरूमा पर्ने राउटे समुदाय जंगलमा आश्रित जीवन बिताउने परम्परागत शैलीमै टिकिरहेका छन्।
उनीहरूको जीवनयापन सुधार गर्न र अधिकार सुनिश्चित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने स्थानीय सरकारको विश्वास छ।

ए.के. सञ्चार । २४ फाल्गुन २०८१, शनिबार २३:३५