सुर्खेत । संविधानले महिलालाई प्रदान गरेका अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवाज उठाइएको छ।
११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघ कर्णाली प्रदेशले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरूले महिलाको हक र समान अवसर सुनिश्चित गर्न आवश्यक रहेको बताए।
अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज मिना सिंह रखालले महिलाले संघर्ष र बलिदानबाट प्राप्त अधिकार अझै पूर्ण रूपमा कार्यान्वयन नभएकाले त्यसका लागि थप पहल आवश्यक रहेको बताइन्।

“३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने संवैधानिक प्रावधान भए पनि व्यवहारमा त्यसको कार्यान्वयन प्रभावकारी देखिएको छैन। हरेक क्षेत्रमा ३३ प्रतिशत सुनिश्चित गर्दै समानताको आवाज बुलन्द गर्न जरुरी छ,” उनले भनिन्।
कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेशका उपाध्यक्ष टेकराज पछाईले महिलाले समान अवसर खोज्दै नेतृत्व लिनुपर्नेमा जोड दिए। “योग्यता र क्षमताका आधारमा महिलाले नेतृत्वमा आउनुपर्ने भएकाले त्यसका लागि अनुकूल वातावरण तयार गर्न आवश्यक छ,” उनले भने।
अखिल नेपाल महिला संघ कर्णाली प्रदेशकी अध्यक्ष मोहनमाया ढकालले महिलाले प्राप्त अधिकारलाई संस्थागत गर्दै अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरिन्। “महिला आन्दोलनकै कारण हरेक तहमा महिला सहभागिता बढेको छ, तर यसलाई अझ अर्थपूर्ण बनाउन आवश्यक छ,” उनले भनिन्।
कार्यक्रमका अवसरमा विभिन्न जनवर्गीय संगठनका निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरिएको थियो।

ए.के. सञ्चार । २४ फाल्गुन २०८१, शनिबार २३:५३