राजेन्द्र कर्णालीमा मूर्तिकला मार्फत पहिचान बनाउँदै

सुर्खेत। सुर्खेतको बराहाताल गाउँपालिका-७ का २३ वर्षीय राजेन्द्र गरङ्जा मगर बाल्यकालदेखि नै मूर्तिकला र चित्रकलामा रुचि राख्ने व्यक्ति हुन्।

औपचारिक शिक्षा कक्षा १२ सम्म मात्र लिए पनि उनले आफ्नै रुचि र सीपको आधारमा तीन वर्षदेखि मूर्तिकला क्षेत्रमा निरन्तर काम गरिरहेका छन्।

सानैदेखि चित्र कोर्न मन पराउने राजेन्द्रले प्रारम्भमा माटोको मूर्ति बनाउन थाले। त्यसपछि उनले सिमेन्टको मूर्ति बनाउन थाले।

तीन वर्षयता उनले विभिन्न ठाउँमा मूर्ति निर्माण गरिसकेका छन्। गुराँस गाउँपालिकाको भ्यू टावरमा रहेको डाँफेको मूर्ति उनले निर्माण गरेका थिए भने शिव मन्दिरमा पहिलो मूर्ति बनाउने अवसर पनि उनले पाए।

पहिले घरपरिवारले उनलाई सेनामा भर्ती हुनुपर्ने दबाब दिएका थिए। तर, उनको मूर्तिकला प्रतिको मोह र लगनशीलता देखेर अहिले परिवारले उनलाई पूर्णरूपमा साथ दिएको छ।

यस क्षेत्रमा उनले कमाउन थालेपछि परिवारको समर्थन झन् बढेको छ। पहिलो मूर्ति बनाएर तीन महिनामा ९० हजार रुपैयाँ कमाएका राजेन्द्रले १७ दिनको अवधिमा नै ७० हजार रुपैयाँ आर्जन गरेका थिए।

हाल उनी कर्णाली फन पार्कका लागि मूर्ति बनाइरहेका छन्। डाक्टर नवराज केसीले उनलाई सो पार्कमा मूर्तिकला सम्बन्धी कामको जिम्मेवारी दिएका हुन्। उनले एउटा मूर्ति बनाए बापत ८० हजार रुपैयाँ पारिश्रमिक पाउने सम्झौता गरेका छन्।

हालसम्म उनले करिब दुईदेखि तीन लाख रुपैयाँ पारिश्रमिक प्राप्त गरिसकेका छन्। घरका जेठा छोराका रूपमा उनले परिवारको जिम्मेवारी सम्हालिरहेका छन्। आमाबुबाले खेतीपाती गरेर घरखर्च चलाउने भए पनि दाजुभाइबहिनीलाई पढाउन हम्मेहम्मे पर्ने अवस्था थियो।

तर, उनले मूर्तिकला क्षेत्रबाट कमाएको आम्दानीले परिवारलाई सघाइरहेका छन्। उनले आफ्नो कमाइले बहिनीलाई वीरेन्द्रनगरमा पढाइरहेका छन्।

पढाइमा भन्दा पनि मूर्ति बनाउन र चित्र कोर्नमा रुचि राख्ने राजेन्द्रलाई यो पेशाले निकै उत्साहित बनाएको छ। मूर्तिकला क्षेत्रमै लागेपछि उनले तीन लाख रुपैयाँ कमाइसकेका थिए।

त्यसपछि उनले यही क्षेत्रमै आफ्नो भविष्य देखे। अहिले उनले ज्यालादारी तथा ठेक्काको आधारमा काम गर्छन्। दैनिक ज्यालादारीको हिसाबले उनले २५ सय रुपैयाँ पारिश्रमिक पाउने गरेका छन्।

मूर्तिकला बाहेक उनी भविष्यमा आर.एन.टी (रेडियोलोजी एन्ड न्युक्लियर टेक्नोलोजी) सम्बन्धी अध्ययन गर्न चाहन्छन्। तर, नेपालमा त्यो पढाइ काठमाडौंमै मात्र उपलब्ध भएकाले तथा घरको आर्थिक भारले गर्दा तत्काल सम्भव देखिरहेका छैनन्।

उनले मूर्तिकलामा गरेको योगदान मात्रै नभई कर्णाली फन पार्क आफैं पनि महत्वपूर्ण परियोजना हो।

सुर्खेतस्थित प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले तीन बिघा क्षेत्रफलमा यो पार्क निर्माण गरिरहेका छन्।

डाक्टर केसीका अनुसार, डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो पार्क बालबालिकाका लागि विशेष रूपमा समर्पित हुनेछ। पार्क निर्माणको उद्देश्य कर्णालीका बालबालिकालाई आफ्नो संस्कृतिबारे जानकारी दिने हो।

डाक्टर केसी भन्छन्, “कर्णालीमा आउने पर्यटकहरूले यहाँको लिमी भ्याली, राउटे समुदाय, अपर डोल्पा, शे-फोक्सुण्डो, तथा गुम्बाहरूको जानकारी पाउन् भन्ने सोचका साथ यो पार्क निर्माण भइरहेको छ।”

कर्णालीलाई चिनाउने उद्देश्यसहित निर्माण भइरहेको यो पार्कमा मूर्तिहरूको माध्यमबाट सांस्कृतिक सम्पदा झल्काउने योजना बनाइएको छ। यस्ता मूर्तिहरू बनाउन राजेन्द्रजस्ता स्थानीय कलाकारहरू संलग्न हुनु कर्णालीको सीप, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण पक्ष हो।

राजेन्द्र मूर्तिकला क्षेत्रमा आफैं स्थापित मात्र नभई कर्णालीको पहिचान झल्काउने मूर्तिहरू बनाउँदै आफ्नो सीपलाई थप निखार्ने प्रयास गरिरहेका छन्। प्रारम्भमा काम खोज्दै भौतारिएका उनी अहिले पार्कमा मूर्तिकला सम्बन्धी जिम्मेवारी पाउँदा निकै खुसी छन्।

उनले कर्णालीमा मूर्तिकला क्षेत्रमा अरू युवाहरूलाई पनि प्रेरित गर्ने खालका काम गरिरहेका छन्। यद्यपि, नेपालमा मूर्तिकला सम्बन्धी औपचारिक शिक्षा तथा तालिम उपलब्ध नभएकाले इच्छुक युवाहरूले स्व-प्रयासबाटै सिक्नुपर्ने अवस्था छ।

राजेन्द्र जस्तै सीप भएका युवाहरूलाई सरकारले आवश्यक प्रशिक्षण तथा अवसर प्रदान गर्न सके उनीहरूको प्रतिभालाई अझ प्रभावकारी रूपमा उपयोग गर्न सकिने देखिन्छ। कर्णाली फन पार्कजस्ता परियोजनाले यस्तो प्रतिभाशाली युवालाई अवसर दिएर उनको कला उजागर गर्न सहयोग पुर्‍याइरहेको छ।

उनको यात्रा संघर्षपूर्ण भए पनि उनले आफ्नो सीपलाई निरन्तर परिष्कृत गर्दै गएका छन्। कर्णालीको माटोमा हुर्केका राजेन्द्रजस्ता कलाकारहरूले नै यहाँको पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।