मुख्यमन्त्री कँडेलकाे बालबालिकालाई सुझाव, राजनीति बुझ्नुस्, तर सानैमा नगर्नुस्

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विद्यालय बाहिर रहेका बालबालिकाको हितमा पनि आवाज उठाउन बालबालिकाहरूलाई सुझाव दिएका छन्।

कर्णाली प्रदेशका दशवटै जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका बालबालिकासँग साक्षात्कार गर्दै मुख्यमन्त्री कँडेलले आफू मात्रै नभई विद्यालय जान नपाएका बालबालिकाको विषयमा पनि बोल्न आग्रह गरेका छन्।

मुख्यमन्त्री कँडेलले विद्यालय जान नपाएका बालबालिकाको बारेमा घर–छिमेकमै रहेका बालबालिकाले बढी जानकारी राख्ने भएकाले उनीहरूलाई विद्यालय पठाउने कार्यमा प्रेरित गर्न सक्ने समूह बनाएर लाग्न सुझाव दिए।

 

उनले भने,`तपाईंहरुकै घर–छिमेकमा रहेका बालबालिकाहरू अझै पनि विद्यालय बाहिर छन्, कृपया उनीहरूलाई विद्यालय जान प्रेरित गर्नुहोस्।`

त्यस्तै, समाजमा विद्यमान हानिकारक कुरीति अन्त्य गर्न बालबालिकाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले घरमै यस्तो कुरीति जन्मन नदिन अभिभावकलाई पनि सचेत गराउनुपर्ने बताए।

मुख्यमन्त्री कडेलले बालबालिकालाई राजनीतिबारे बुझ्न सुझाव दिँदै सानै उमेरमै सक्रिय राजनीति नगर्न आग्रह गरे। उनले भने,`यो उमेरमा तपाईंहरूलाई राजनीति गर्न भनिँदैन, तर राजनीति के हो भन्ने बुझ्न जरुरी छ। राजनीति भनेको अधिकारको खोजीको यात्रा हो।`

बालअधिकारका विषयमा बालबालिकाले उठाएका मुद्दाहरू सान्दर्भिक रहेको भन्दै मुख्यमन्त्री कडेलले स्थानीय तहलाई पनि यस्ता विषयमा सचेत गराउन आग्रह गरे।

यसैबीच, कर्णाली प्रदेश स्तरीय बाल सञ्जालका पदाधिकारी र सदस्यहरूले मुख्यमन्त्रीसँग भेटघाट गर्दै ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्र बुझाउँदै सञ्जालकी अध्यक्ष समीक्षा चौधरीले बालबालिकाका सवालको समयमै व्यवस्थापन गर्न, बालविवाह न्यूनीकरण रणनीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न, बालविवाहको न्यूनतम उमेर २० वर्ष कायम गर्न, विद्यालयमा बाल संरक्षणमा विशेष ध्यान दिन र बालविवाह, जातीय छुवाछूत, छाउपडी प्रथा, अपांगता भएका व्यक्तिमाथिको हिंसा जस्ता हानिकारक प्रथाहरू अन्त्य गर्न व्यवहारिक पहलसहित कानुनी कार्यान्वयन गर्न सरकारसँग माग गरेकी छन्।