सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ को आयोजना तथा सुर्खेत कम्प्युटर इन्ष्टिच्युट तथा कोचिङ सेन्टर प्रालिको सहकार्यमा सञ्चालन गरिएको ‘दलित समुदायको लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम’ सम्पन्न भएको छ।
तीन दिनसम्म चलेको उक्त तालिममा २७ जना दलित महिलाको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको प्रमुख अतिथि एवं नगर कार्यपालिका सदस्य यामुना नेपालीले संघीयताको अभ्याससँगै महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न यस्ता तालिमले सहयोग गर्ने विश्वास व्यक्त गरिन्।
सहभागितामात्रै हैन, दलित महिलाहरू अब नेतृत्व तहमा पुग्नुपर्छ उनले भनिन्,`संघीयताले दिएको अधिकारलाई व्यवहारमा उतार्दै चुलोचौकोमा मात्र सीमित नरही सार्वजनिक जीवनमा समेत सक्रिय बन्नु आवश्यक छ।`
कार्यक्रममा वडा नम्बर १२ का वडा सदस्य गंगाराम लामिछाने र सन्तबहादुर सारूले पनि आफ्नो मन्तव्य राख्दै महिलाहरूले यस्ता तालिमबाट सिकेका सीपहरू व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।
सदस्य सारुले भने,`दलित महिलाहरू अब नेतृत्व विकासमा अग्रसर हुनु जरुरी छ। सशक्त महिला नेतृत्वले समाज परिवर्तन गर्न सक्छ।`

वडा नम्बर ५ की कार्यवाहक वडा अध्यक्ष नर्मता कार्कीले तालिमको उपयोगिता औंल्याउँदै सिकेका कुरालाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गरिन्।
उनले भनिन्,`तालिमबाट धेरै कुरा सिकिन्छ, तर त्यसलाई कार्यान्वयन नगर्दासम्म प्रभाव देखिँदैन। यो सिप टोल स्तरमै लागू गरेर नेतृत्वतर्फ अघि बढ्नुपर्छ।`
कार्यक्रमको समापन सत्रमा वडा नम्बर १२ का वडा अध्यक्ष चुडामणि चपाईले सहभागी सबै महिलालाई बधाई दिंदै तालिममा सिकेका सीपहरूले उनीहरूलाई आत्मनिर्भर र नेतृत्वदक्ष बन्न सघाउने विश्वास व्यक्त गरे।
तालिम अवधिभर सहभागी महिलाहरूलाई नेतृत्व क्षमता, बोल्ने शैली, कानुनी अधिकार र संघीय प्रणालीका बारेमा जानकारी दिइएको आयोजक संस्थाले जनाएको छ।
साथै, सहभागी महिलाहरूले तीन दिनको तालिमबाट नेतृत्व क्षमता, अधिकार र व्यवहारिक सीपहरूबारे धेरै कुरा सिक्न पाएको अनुभव सुनाए। तालिमले आत्मविश्वास बढाएको उनीहरुले बताए । आगामी दिनमा यस्ता उपयोगी तालिमलाई निरन्तरता दिनु पर्नेमा जोड दिंदै वडालाई नियमित रूपमा यस्ता कार्यक्रमको व्यवस्था गर्न आग्रह गरे।
