सुर्खेतका नीजी तथा सामुदायिक विद्यालयहरु  आइतबार देखि खुल्ने

  ।   १८ भाद्र २०७८, शुक्रबार १८:२३

सुर्खेत । कोरोना संक्रमणका कारण बन्द भएका सुर्खेतका नीजी तथा सामुदायिक विद्यालयहरु आउने सातादेखि खुल्ने भएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको विहीवार बसेको बैठकले स्मार्ट लकडाउन सम्वन्धी कार्यविधि अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी आगामी सातादेखि खुलाउने निर्णय गरेको हो ।

विद्यालय खुलाउने सम्वन्धमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना संक्रमणको अवस्था हेरिनेछ । सुर्खेतका नौ मध्ये ६ वटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ग्रीन जोनमा परेको र भौतिक रुपमा विद्यालय खुलाउन सकिने भए पनि वीरेन्द्रनगर नगरपालिका रेड जोनमा र भेरीगंगा तथा गुर्भाकोट नगरपालिका यल्लो जोनमा छन् । वीरेन्द्रनगर नगरपालिका रेडजोनमा परेपनि जोखिम उठाएर विद्यालय खुलाउन लागिएको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सम्भवतः आगामी सातादेखि सुर्खेतका सवै सामुदायिक र संस्थागत विद्यालयहरु खुल्ने बताए । उनले स्वास्थ्य संक्रमणको जोखिममा रहेको वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाको शिक्षा शाखा, शिक्षक महासंघ, प्याव्सन, एनप्याव्सनको सहभागितामा विद्यालय खुल्ने मापदण्ड निर्धारण गरेर त्यसको आधारमा विद्यालय खुलाइने जानकारी दिए । दुई-तीन दिनभित्र मापदण्ड निर्माण गरिने प्रतिवेदन बुझाउने र त्यसका आधारमा विद्यालय खुलाइने उनको भनाइ छ ।

मापदण्ड निर्धारणका लागि शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । जसमा वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख, जनस्वास्थ्य सेवा कार्यालय, प्याव्सन, एनप्याव्सन, शिक्षक महासंघ र शिक्षक अभिभावक संघ सदस्य छन् । यही कार्यदलले मापदण्ड निर्धारण गरी प्रतिवेदन तयार गरी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमा पेश गर्नेछ ।

विद्यालयहरु खुलाउँदा दुई सिफ्टमा खुलाइने तयारी गरिएको छ । पंचपुरी, लेकबेसी नगरपालिका साथै सिम्ता, चिंगाड, बराहताल र चौकुने गाउँपालिकामा कोरोना संक्रमण न्यून भएकोले भौतिक उपस्थितिमा विद्यालय खुलाउन सकिने जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले स्मार्ट लकडाउन कार्यविधिमा ६५ अंकभार भन्दा माथि कोभिड संक्रमण भएमा रेडजोनमा राख्ने र कडा लकडाउन गर्नुपर्ने उल्लेख भएको बताए । वीरेन्द्रनगरको अंकभार ६६ छ । यस्तै भेरीगंगा नगरपालिकाको ४२ र गुर्भाकोटका २१ छ । अंकभारका लागि दिइएका सूचकहरुमा दुई हप्तामा कोभिड नयाँ संक्रमणको बृद्धि दर, मृत्यु दर, वेड क्षमतालगायत रहेका छन् ।

Next Post

२४ घण्टामा १७५६ कोरोना संक्रमण पुष्टि, २२७४ निकाे

१८ भाद्र २०७८, शुक्रबार १८:२३
काठमाडौं । पछिल्लो २४ घण्टामा १७५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २२७४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८०९ पुगेको छ । यस्तै हालसम्म कोरोना […]

सम्बन्धित शीर्षक