२०८२ कात्तिक २७ , बिहीबार

कर्णाली सरकारद्वारा ६९३ पत्रकारको स्वास्थ्य बीमा




सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका ६९३ जना क्रियाशील पत्रकारको स्वास्थ्य बीमा गरेको छ ।

कार्यक्रम नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सहकार्यमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत निशुल्क रूपमा सञ्चालन गरिएको हो ।

स्वास्थ्य बीमा योजनाका लागि मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । बीमा अनुसार पत्रकारहरूले प्रति वर्ष ७० हजार रुपैयाँसम्मको औषधोपचार सेवा लिन सक्नेछन् । कुल बीमा खर्च करिब १४ लाख रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।

बीमित पत्रकारले बिरामी परेको ६० दिनभित्र वा अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र बीमा कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षामा राज्यको भूमिकामा हस्तक्षेप नगरेर, पत्रकारकाे संरक्षण गर्नु पर्ने बताएका छन् ।

आइतबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको पत्रकार स्वास्थ्य बीमा पाेलेसी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पत्रकारिता सधैं सत्य खोज्ने, र  जनताको आवाज बुलन्द पार्ने पेशा भएकाले पत्रकारकाे संरक्षण गर्नु पर्ने बताएका हुन् ।

यस्तो संवेदनशील र कठिन जिम्मेवारी निर्वाह गर्ने पत्रकारको सुरक्षामा राज्यको चासो र संरक्षण अपरिहार्य हुन्छ मुख्यमन्त्री कँडेलले भने,`प्रदेश सरकार प्रेस स्वतन्त्रता प्रति पूर्ण प्रतिबद्ध रहेको छ ।`

राज्य र सञ्चारकर्मीबीच पारदर्शिता, आपसी सम्मान र सहकार्य आवश्यक रहेको मुख्यमन्त्री कँडेलले भनाइ राखे ।

स्वास्य्थ बीमा कार्यक्रमले पत्रकारको सुरक्षाप्रतिको राज्यको दायित्वबोध, लोकतान्त्रिक मूल्य र मानव अधिकारको पक्षमा सरकारको प्रतिबद्धता पुरा हुने मुख्यमन्त्री कँडेलले विश्वास व्यक्त गरे ।

महासंघ प्रतिनिधिहरूले प्रदेश सरकारले सञ्चारकर्मीको सुरक्षाप्रति देखाएको संवेदनशीलता र सक्रियतालाई ऐतिहासिक कदमको रूपमा लिएको बताएका छन् ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, मन्त्रालयका कर्मचारी, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति, विभिन्न सञ्चार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार